झापा : टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ । नेपाल(भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोली नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो । पश्चिम बंगालको दार्जि्लिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ । उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा केही खुलाएको छैन । टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजको एसएबसीको आशंका गरेको छ । टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नेमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ ।