काठमाडौं : भारतले नेपाललाई पराजित गर्दै पाँचौं संस्करणको साफ यु-१५ (१५ वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

भारतको कोलकातास्थित कल्याणी रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यु-१५ मा नेपाल अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै, यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो । यसअघि, सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यु–१६ का नाममा हुने गर्दथ्यो ।

नेपालले खेलको पहिलो हाफमा ३ गोल खायो भने खेलको दोस्रो हाफमा ४ गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए । त्यस्तै, खेलको ४१औं मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

त्यस्तै, खेलको टैसन सिंहले खेलको ५२औं मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औं मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले २ गोल थपे । उनले खेलको ७६ र ८०औं मिनेटमा २ गोल गरे । ‘राउन्ड रोबिन लिग’को आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अंकतालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले त्यसपछिका तीन खेलमा लगातार जित निकालेको थियो । नेपालले श्रीलंक, बंगलादेश र भुटानलाई पराजित गरेको थियो । भारतले भने अपराजित रहँदै उपाधिमाथि कब्जा जमायो । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता रहेको थियो ।