औजार : आजको औजार दैनिकमा “फर्जी कागजात तयार गरी बजेट निकासा” शीर्षकको समाचार छापिएको छ । गत आर्थिक वर्षमै सकिनुपर्ने सीपमुलक तालिम पाँचथर जिल्लाको कुम्म्याक गाउँपालिकाले हाल धमाधम सञ्चालन गराउँदै छ । जनप्रतिनिधि, कर्मचारी र कार्यक्रम प्रस्तावक मिलेपछि गत आर्थिक वर्षमा केही नगरी पनि तालिम सकियो भनेर फर्जी कागजात तयार गर्दै तालिमका लागि विनियोजित बजेट भुक्तानी गाउँपालिकाले प्रस्तावकहरुलाई दिएको रहस्य खुलेको छ । तालिमका प्रस्तावकमध्ये केहीले हालै तालिम सम्पन्न गरेका छन् भने केहीले सञ्चालन गरिरहेका छन् । लक्षित वर्ग अन्तरगत दलित समुदायका युवालाई कम्प्युटर प्रविधिसँग सम्बन्धित सीप सिकाउन भन्दै जनसेवा समाज पाँचथरद्वारा आयोजित ३ महिने कम्प्युटर आधारभूत तालिम भदौको पहिलो साता सम्पन्न भएको पाइएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सामुदायिकका शिक्षकले अन्यत्र पढाउन नपाउने” शीर्षकको समाचार छापिएको छ । झापाको दमक नगरक्षेत्रभित्र रहेका २१ वटा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई दमक नगरपालिकाले अङ्कुस लगाएको छ । सामुदायिक विद्यालयमा पढाउने ती शिक्षकहरुले अब आफु आवद्ध विद्यालय बाहेक अन्य शैक्षिक संस्थामा काम गर्ने कुरालाई नगरपालिकाले कडाई गरेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेका अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बाहिरका शैक्षिक संस्थामा बढी आकर्षित भएर आफू आवद्ध विद्यालयमा कम समय दिने गुनासो नगरपालिकामा आएकाले यस प्रकारको नियम ल्याइएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जानुमा त्यहाँ कार्यरत शिक्षकहरुले आफ्नो सीप र क्षमतालाई सो विद्यालयमा पर्याप्त प्रयोग गर्न नचाहेको भन्दै अब यस प्रकारको नियमले केही सुधार हुने उनले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जबरजस्ती करणीमा युवक जेल चलान” शीर्षकको समाचार छापिएको छ । जबरजस्ती करणी गर्ने मोरङ सुन्दरहरैचाका एक जना युवक जेल चलान भएका छन् । सुन्दरहरैचा ५ का २३ वर्षीय मनीष घिमिरे पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनले सुन्दरहरैचाकै एक विवाहित महिलालाई इटहरीको वडा नं. ६ मा सञ्चालित ओके होटल एण्ड लजमा जेठ १४ गते बोलाएर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी मुद्दा दर्ता गरिएको थियो । घिमिरे अविवाहित हुन् । श्रीमान विदेशमा रहेकी महिलालाई ती युवकले बोलाएर जबरजस्ती करणी गरेको भनी जाहेरी परेपछि पक्राउ परेर मुद्दा चलाइएको थियो । सुनसरी जिल्ला अदालतका न्यायधिस धुर्वकुमार उप्रेतीकानुसार पुर्पक्षका लागि जेल चलान भएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए ।