इटहरी : नेपाल सरकारले पर्यटन बर्ष २०२० मा २० लाख बढी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएसँगै प्रदेश १ का पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन व्यवसायी सुरेश बस्नेतले प्रदेश १ मा सीमा आरम्भ नजिकै रहेका कारण पर्यटक तान्न सहज हुने तर्क गरे ।

‘हाम्रो प्रदेशमा सीमा आरम्भ पनि रहेका कारण पर्यटक लोभ्याउन सकिन्छ,’ उनले भने, ‘हामीकहाँ, पाथिभरा, बराहक्षेत्र देखि हलेसी सम्मका धार्मिक पर्यटक छन्, यसले पनि पर्यटक तान्न सकिन्छ ।’ बस्नेतका अनुसार नेपालका र विशेषगरी प्रदेश १ मा शितल डाँडा तथा झरना रहेका कारण पनि पर्यटक तान्न सकिने बताए । ‘हामीले हाम्रो होमस्टे बेच्न सक्छौँ, त्यहीँ भारतबाट आउँने पर्यटकलाई हामी हेप्ने गरेका छौँ,’ उनले भने, ‘हामीले पर्यटकलाई सम्मान गर्न सक्नुपर्छ, र हाम्रो संस्कृतिलाई बेच्न सक्नुपर्छ ।’ उनले विश्वको सबैभन्दा धेरै चरा र पुतली पाईने देश पनि नेपाल रहेको तथा लोपोन्मुख अर्ना समेत प्रदेश १ को सुनसरी जिल्लामै पाईने भएका कारण पर्यटक आउन सक्ने तर्क गरे । उनले कपुरीसँग भने, ‘हामीले पर्यटकका लागि १०१ चीज बेच्न सक्छौँ, संसारमा पाईने चीज हामीकहाँ नै छ ।’

उनका अनुसार प्रदेश १ मै नेपालको होचो केचना केवल देखि विश्वको अग्लो सगरमाथा सम्म प्रदेश १ मै रहेका कारण पनि पर्यटकलाई आफ्नो ठाउँको प्रचार गर्न सकेमा पर्यटकहरु आउन सक्ने बताए । त्यस्तै, पर्यटन व्यवसायी जीवन पराजुलीले नेपालका अधिकांश क्षेत्र पर्यटकीय ठाउँ रहेको भएपनि प्रचार अभावका कारण ओझेलमा रहेको तर्क गरे । उनले भने, ‘मुख्य रुपमा नेपालमा पर्यटक नआउनु भनेको हामीले हाम्रो ठाउँको प्रचार गर्न सकेका छैनौँ, दार्जिलिङमा धरान सुनिएको छ, तर धरान कहाँ पर्छ थाहा छैन ।’ उनले पर्यटक तान्नका लागि सीमाआरम्भ नजिकै नेपालका घुम्नै पर्ने र घुम्न लायकका ठाउँहरुको होर्डिङ बोर्ड लगाउनु पर्ने तर्क गरे । उनले इलामको पशुपतिनगर, बिराटनगरको जोगवनी तथा काकडभिट्टाको नाकामा होर्डिङ बोर्ड लगाएर नेपालको प्रचार गर्नुपर्नेमा जोड दिए । भने, ‘हामीहरु थाईल्याण्ड बढी सुनेका कारण त्यहाँ जान्छौँ, तर नेपाल नसुनेका कारण यहाँ पर्यटक नआएका हुन्, नेपालको सकारात्मक प्रचार गर्न सक्नुपर्छ ।’