काठमाण्डौं: केही महिनाअघि भारतमा एटिएम सिस्टम ह्याक गरेर ह्याकरहरुले करोडौं रुपैया लुटेका थिए । ती लुटेराहरु को थिए भनेर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

भारतको विभिन्न सहरमा ह्याकरहरुले एटिएम सिस्टम ह्याक गरेर ८० करोड लुटेका थिए । भारतमा एटिएम सिस्टम ह्याक गर्नेहरु चिनिया नागरिक भएको खुलेको थियो । अहिले नेपालमा पनि सोही प्रकृतिको घटना भएको छ । कतै भारतमा ह्याकिङ गर्ने चिनिया नागरिकहरु नै नेपालमा त आएका होइनन् ? अहिले यही आशंका गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा राजधानीको विभिन्न बैंकको एटीएमबाट पैसा निकालेको सूचना पाएपछि शनिबार रातीदेखि नै विभिन्न बैंकहरुको सर्भर डाउन भएको थियो ।

ह्याकरहरुले एटीएमबाट पैसा चोरेको सूचना पाएपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार प्रभु बैंक र एनआईसी एशियाबाहेकका एटीएम सेवा सूचारु भएको छ । तर, अन्तर बैंक एटिएम कारोबार भने तत्कालको लागि बन्द छ । महानगरीय प्रहरी परिसरका प्रमुख एवं एसएसपी उत्तमराज सुवेदीले मध्यराती नवील बैंकको एटिएमबाट रकम निकालिरहेका ५ चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पक्राउ परेका चिनिया नागरिकहरुबाट प्रहरीले एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको पनि जानकारी दिएको छ । ‘भारतमा पनि यही तरिकाले एटिएमबाट पैसा लुटिएको थियो, त्यसैले त्यही समुह कतै नेपाल छिरेको हो कि भन्ने अनुमान छ,’ एसएसपी सुवेदीले भने ।