धरान: पर्यटन प्रर्वद्धन तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो इष्ट टुरिज्म मार्टको सचिवालय आइतबार धरानमा खुलेको छ ।

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा रहने मार्टको सचिवालयको कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीदे उद्घाटन गरेकी थिइन् । धरानमा आगामी असोज ४, ५ र ६ गते धरानमा मार्ट हुन लागेको छ । मार्ट धरान ७ स्थित सिद्धि नेवाः परिषदमा हुने तयारी छ ।

मार्टका अध्यक्ष भवेश श्रेष्ठका अनुसार तीन दिन आयोजना हुने मार्टमा भारत, वंगलादेश र भुटानका पर्यटनकर्मीहरु सहभागी हुनेछन् । मार्टमा प्रदेश नं १ का पर्यटन व्यवसायीहरुको स्टल हुनेछ भने ३ मुलुकबाट ट्राभल एजेन्सी, होटल व्यवसायी र पत्रकारहरु सहभागी हुनेछन् । ‘यो मार्ट पर्यटन गन्तव्यहरुको बिक्रीकर्ता र खरीदकर्ताहरुको भेला हो, नेपालका व्यवसायीहरुले स्टल राखेर टुर प्याकेज, गन्तव्य बेच्ने हो, त्यसलाई विदेशका पर्यटन व्यवसायीहरुले खरीद गर्ने हो,’अध्यक्ष श्रेष्ठले भने ।

आइतबार स्थापना भएको सचिवालयले मार्टको लागि पत्राचार गर्ने, स्टल बुकिङको लागि बोलाउनेलगायतको काम गर्ने उनले बताए । नेपाल पर्यटन बोर्डको सहयोगमा इष्ट टुरिज्म मार्ट २ बर्षअघि धरानमा भएको थियो । यो मार्ट बर्षेनी गर्नुपर्ने भएपनि गत बर्ष हुन सकेको थिएन । उपमहानगरपालिकाले मार्टको लागि बजेट विनियोजन गरेको छ ।