औजार : आजको औजार दैनिकमा “इनरुवा नगर प्रमुख र उपप्रमुख बीचमा किचलो” शीर्षकको समाचार छापिएको छ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख र उपप्रमुख बीचमा किचलो देखिएको स्थानीयहरुले गुनासो गरेका छन् । नगरप्रमुख राजन मेहताको कार्यशैलीको उपप्रमुख जमुना गौतम पोखरेलले विरोध गरिरहेकी छन् । निर्वाचनपछि केही महिना इनरुवा नगरपालिकाका प्रमुख मेहता र उपप्रमुख पोखरेलको बीचमा काम गर्ने विषयमा राम्रो सम्बन्ध रहेको भएपनि आर्थिक वर्ष २०७५।०७६ को बजेट ल्याउने बेलादेखि किचलो सुरु भएको र त्यो दुई वर्षदे िखजारी रहेको पाइएको हो । स्थानीयहरुले नगरको विकासमा सबैको हातेमालो सहित सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनको अपेक्षा गरेको भएपनि इनरुवाका प्रमुख र उपप्रमुख बीचमा नै कीचलो रहेकाले विकासमा गुणस्तर कायम नभएको गुनासो गरेका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “रोजगारमा ठगी धन्दाः दलालबाट पौने २ करोड असुली” शीर्षकको समाचार छापिएको छ । वैदेशिक रोजगारीमा लाने भन्दै ठगी गर्ने दलालहरुबाट विराटनगरको श्रम कार्यालयले करिब २ लाख रुपैयाँ असुली गरेको छ । सप्तरीका डाक्नेश्वरी नगरपािलका ६ का सहजाद आलमले आकर्षक तलबको प्रलोभनमा पारेर रइस मियाँसहित २२ जनालाई ठगेका छन् । रोजगारमा जान प्रक्रिया मिलाउनुपर्ने भन्दै २२ जनासंग जनही ५७ हजार ९ सय ५४ रुपैयाँ सहजादले लिए । एजेण्टको काम गर्ने सहजाद रकम लिएर सम्पर्कविहिन बनेपछि उनीहरुले आफूहरु ठगिएको थाहाँ पाए । पीडित रइस मियाँसहित २२ जनाले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा उजुरी दर्ता गराए । श्रम कार्यालयले गत १३ असारमा पीडितले दिएको उजुरी र प्रमाणको आधारमा सहजादको नाममा पक्राउ पूर्जि जारी गरेको आधारमा सहजादलाई प्रहरीले सप्तरीबाट पक्राउ गरी हाजिर गरायो । पीडित र पीडिक पक्षबीचको छलफलमा एजेण्ट सहजादले २२ जना युवालाई १२ लाख ७५ हजारमध्ये ४ लाख ९६ हजार रुपैयाँ मात्र फिर्ता दिएका छन् । बाकी ७ लाख ७९ हजार रुपैयाँ एकसाताभित्र दिने कबुल गरेपछि उनी साधारण तारेखमा छुटेका छन् । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेल श्रम तथा रोजगार कार्यालय विराटनगर आएपछि हालम्म रोजगारको नाममा ठगिएका १ सय २६ जनाको १ करोड ८२ लाख ७५ हजार रुपैयाँ असुल गरिदिएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रहरीको पेस्तोल लुट्ने २ जना पक्राउ” शीर्षकको समाचार छापिएको छ । चार महिनाअघि प्रहरीको पेस्तोल लुटेर फरार भएका सुनसरी भोक्राहा नरसिंहका दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिंह वडा नं. ८ का ३७ वर्षीय ज्याबुल मनसुरी र २८ वर्षीय ज्याबुल हक आलम पक्राउ परेका हुन् । यी दुवै जना वैदेशिक रोजगारीका लागि विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी वीनोद शर्माले बताए । उनका अनुसार दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । घटनाक्रम अनुसार चैत्र २२ गते दिउँसो ३ बजेतिर भोक्राहा नरसिंह वडा नं. ८ मा नियमित गस्तीमा निस्किएका सई चन्द्रबहादुर शाक्य नेतृत्व टोलीबाट पेस्तोल खोसिएको थियो ।