धरान: ईलाका प्रहरी कार्यालय धरानले समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धरानका जेष्ठ नागरिकहरुसँग उनीहरुका समस्याहरुबारे छलफल तथा अन्र्तक्रिया गरेको छ ।

जेष्ठ नागरिक मिलन केन्द्र धरानको समन्वयमा प्रहरी कार्यालय परिसरमा आइतबार जेष्ठ नागरिकहरुसँग छलफल भएको हो । जेष्ठ नागरिक मिलन केन्द्र धरानका उपाध्यक्ष एवं पुर्वमेयर कुमार बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुले आफ्नो सुरक्षा तथा जेष्ठ नागरिकविरुद्ध हुने अपराध नियन्त्रणमा प्रहरीको भूमीकाबारे कुरा उठाएका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरुले हाल भोग्नु परिरहेको विभिन्न समस्याबारे कुरा राखेपछि प्रहरी अधिकारीहरुले ती गुनासोको सुनुवाई गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै, सम्बन्धित कार्यालयहरुमा ती समस्याहरुबारे जानकारी गराउने पनि प्रतिवद्धता राखेका थिए ।

जेष्ठ नागरिकहरुले आफ्नो गुनासो सुन्ने फोकल पर्सन अधिकृत तोकेर जेष्ठ नागरिकलाई सेवा प्रदान गर्नुपर्ने माग गरेका थिए । यस्तै, जेष्ठ नागरिकहरुले यात्रा गर्दा नेपाल सरकारले तोकेको भाडा छुट गर्न कतिपय बस व्यवसायी नमान्ने गरेको र केहिले छुटको लागी अनुरोध गर्दा अपमानजनक व्यबहार समेत गर्ने गरेको गुनासो राखेका थिए । साथै उनीहरुले जेष्ठ नागरिकका लागि छुट्याईएको सिटहरु समेत उपभोग गर्न नपाउने अवस्था हटाउन आग्रह गरेका थिए ।

यस्तै, धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अनय अस्पतालहरुमा जेष्ठ नागरिकहरु उपचार गर्न पुग्दा अलग लाईन नहुदा धेरै समस्या व्यहोर्नुपरेको र अनावश्यक हैरानी हुने गरेको जेष्ठ नागरिकहरुले बताएका छन् । यो समस्या हटाउन सम्बन्धित निकायलाई जानकारी गराए पहलीकदम चाल्न र जेष्ठ नागरिकलाई नियमानुसार नेपाल सरकारबाट उपचारमा पाउनु पर्ने छुट अनिवार्य पाउने व्यबस्था गर्न पनि आग्रह गरेका छन् ।

jestha-nagarik

यस्तै, जेष्ठ नागरिकको सुरक्षामा प्रहरीले ध्यान दिए पनि आगामी दिनमा जेष्ठ नागरीकका सन्तती तथा बाह्य राष्ट्रहरुवाट जेष्ठ नागरिकहरुलाई हुन सक्ने हिंसाका घट्नाहरुमा प्रहरीले अझ प्रभावकारी कदम चाल्न पनि उनीहरुले माग गरेका थिए । यस्तै, जेष्ठ नागरिकहरुले जेष्ठ नागरिकहरुको एकिन तथ्याङ्क राख्न र जेष्ठ नागरिकहरुको संरक्षणमा सम्बन्धित निकायले पहल गर्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा जिल्ला प्रहरी प्रमुख यज्ञ विनोद पोखरेल, बिशेष अतिथिकोरुपमा ईलाका प्रशासन कार्यालय धरानका कार्यालय प्रमुख चन्द्र बहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, धरान उपमहानगगरपालिकाका प्रतिनिधि, विपी प्रतिष्ठानका प्रतिनिधि, जेष्ठ नागरिक मिलन केन्द्रका पदाधिकारी, बिभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।