औजार : आजको औजार दैनिकमा “धरानको भानुचौकमा अब ३० फुटको राष्ट्रिय झण्डा” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु धरानको भानुचौक, इलामको कन्याम र श्रअन्तु, झापाको दमक, काँकडभिट्टा र केचना, सुनसरीको इटहरी, कोशीव्यारेज र मोरङको विराटनगर एयरपोर्ट र विराटनगर रानी, सोलुको लुक्ला, सगरमाथाको बेसक्याम्प लगायतका स्थानमा ३० फिटको राष्ट्रिय झण्डा स्थायी रुपमाा राखिने भएको छ । यही असोज ३ गते संविधान दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय झण्डा राखिने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दिवसका दिन झण्डा राख्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शेरधन राईले दिवसको दिन सबै जातजाति र समुदायको पहिचान झलकने झाँकीहरु प्रतिस्पर्धामा समावेश गरेर पुरस्कृत गर्नेगरी प्रदर्शनीका लागि समावेश गर्न पनि निर्देशन दिएका छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सडक निर्माणमा अनियमितता भएको उपभोक्ताहरुको आरोप” शीर्षकको समाचार छापिएको छ । मोरङको बेलबारी ९ स्थित देवीगञ्जदेखि ढ्वाङढ्वाङे मेला लाग्ने स्थानसम्म भएको सडक ग्राभेलमा अनियमितता भएको उपभोक्ताहरुले जनाएका छन् । आर्थिक वर्ष २०७५,०७६ मा प्रदेशको भौतिक पूर्वाधार विकासबाट आएको ३० लाख बजेटले दुईहजार तीनसय मिटरमा ग्राभेल गर्ने भनिएको थियो । उक्त बजेटबाट सडकमा १ हजार ८ सय मात्र ग्राभेल लगाइएको स्थानीयबासीको भनाई छ । स्थानीय थानबहादुर राई भने, “ए लेवलको गर्ने भनेर पहिला गरेकै ग्राभेलमाथि यसो टाँसेको मात्र छ, काम गर्दागर्दै सम्झौताअनुसारको भएन है भन्दा पनि सुनुवाई भएन ।”

यसैगरी आजको ब्लाष्ट टाईम्स दैनिक “नागरिकता वितरण गरेको आरोपमा पाँच पक्राउ” शीर्षकको सभाचार पनि छापिएको छ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए । गैरकानूनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो । निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ । गैरनेपालीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानविन थालिएको बताइएको छ । प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ । १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुङ्गेलले नागरिकता जारी गरेको बताइएको छ ।

नागरिक पूर्वेली :  आजको नागरिक पूर्वेली दैनिकमा “समाजवादीको प्रस्तावले राजपामा हलचल” शीर्षकको समाचार छापिएको छ । समाजवादी पार्टी र राजपा नेपालकाबीच एकताका लागि बसेको पहिलो औपचारिक बैठकमा समाजवादी पार्टीले एकीकरणको प्रस्तावपेश गरेको छ । समाजवादी पार्टीको तर्फबाट बुझाइएको लिखित प्रस्तावले राजपामा हलचल पैदा भएको छ । समाजवादी पार्टीले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द महतोलाई चौथो बरियतामा राखेर पार्टी एकीकरणको प्रस्ताव गरेपछि राजपामा हलचल पैदा भएको राजपाका एक केन्द्रीय पदाधिकारीले बताए । भट्टराई र यादवपछि महतोलाई तेस्रो बरियतामा राख्नुपर्ने र महन्थ ठाकुरलाई मानार्थ अध्यक्षको सम्मान दिनुपर्ने राजपाको तर्फबाट मौखिक प्रस्ताव थियो । तर, समाजवादी पार्टीले महतोलाई अशोक राईपछिको बरियतामा राखेर एकीकरणको प्रस्ताव गरेपछि राजपाभित्र तरंग भएको छ ।