धरान: धरानको भानुचोकदेखि माछाभौडीसम्मको देशीलाइन बाटो ५० फिट मापदडअनुसार निर्माण हुने भएको छ ।

भानुचोकदेखि पुर्वतर्फको यो बाटो धरानको पुरानो बाटोमध्येको एक हो । आज बिहान एक कार्यक्रमबीच धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बाटोको शिलान्यास गरेकी थिइन् । उपमहानगरले यो बाटो ५० फिट मापदण्डको निर्माण गर्ने निर्णय गरेपछि स्थानीयबासीले मापदण्डभित्र पर्ने आफ्नो घरहरु भत्काएका थिए । यो बाटो निर्माण पुरा भएपछि वान वे सञ्चालन गर्ने ढोका पनि खुल्नेछ । देशीलाइनबाट माछाभौडी हुदै उत्तर सिंहदेवी चोक हुदै यो बाटो लक्ष्मी चोक जोडिन्छ ।

वडा नं २ का सदस्य धर्म तामाङका अनुसार आजदेखि नै बाटोको उत्तरतर्फको ड्रेन खन्न थालिएको छ । यो ड्रेन दशैं अघि सकिनेछ भने सम्पुर्ण निर्माण कार्य आगामी ९ महिनाअघि सम्पन्न हुने तामाङले बताए ।उपमहानगरपालिकाले ठेक्का मार्फत यो सडक निर्माण कार्य थालेको हो । यो सडक स्टिमेटभन्दा १६ प्रतिशत कम १ करोड १९ लाख हाराहारीमा ठेक्का लागेको छ । कुल ५० फिट मापदण्डमध्ये ३६ फिट कालोपत्रे सडक हुनेछ भने सडकको दुवै किनारमा ७ ७ फिटको पेटी र ड्रेन निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।