औजार : आजको औजार दैनिकमा “लोकसेवा आयोग विधेयक प्रमाणीकरण” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण भएको छ । प्रदेशसभाको भदौ १० मा बसेको ४० औं बैठकले विधेयक सर्वसम्मत पारित गर्दै प्रमाणीकरणको लागि प्रदेश प्रमुखलाई पठाइएको थियो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको संविधानको धारा, २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कोशीपीडितको आन्दोलनमा कांग्रेसको साथ” शीर्षकको समाचार छापिएको छ । मुआब्जा माग्दै आन्दोलनरत कोशीपीडितको माग सम्बोधन गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । कोशी ब्यारेजमा अनसनमा रहेका पीडितहरुको अवस्था बुझ्न आएका १ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सुनसरी सभापतिसहितको टोलीले कोशी पीडितको माग सम्बोधन गर्नका पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । १८ दिनदेखि मुआव्जा तथा क्षतिपूर्तिको माग गर्दै कोशी पीडित अनसनमा रहेपनि सरकारले उनीहरुको माग सम्बोधन गर्नका लागि चासो नदेखाएको प्रमुख प्रतिपक्षि दलका नेता राजिव कोइरालाले बताए । उनले भने, “हामीले प्रदेश र प्रतिनिधिसभामा पटक–पटक कोशीपीडितको माग बारेमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं, तर सरकारले उनीहरुको माग सम्बन्धमा कुनै चासो लिएको छैन ।”२०११ सालमा नेपाल–भारत सरकारबीच भएको कोशी सम्झौता कार्यान्वयन गर्दै निमुखा, गरिब जनताको जायज माग सम्बोधन गर्नका लागि पहल गर्न कोइरालाले आग्रह गरे ।

यसैगरी आजको ब्लाष्ट टाईम्स दैनिक “वीपी प्रतिष्ठानको मुटुको उपचार गर्ने क्याथल्याव बिग्रियो” शीर्षकको सभाचार पनि छापिएको छ । पूर्वको रिफरल सेण्टर मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षअघि जडान गरेको बहुउपयोगी कार्डियाक क्याथल्याव बिग्रिएपछि मुटु र स्नायुको समस्या भएको विरामीको उपचार प्रभावित भएको छ । भदौ १० गते कार्डियाक क्याथल्याव बिग्रिएपछि प्रतिष्ठानमा मुटुको समस्या लिएर उपचारका लागि आउनेहरुलाई अन्यत्र रिफर गर्न चिकित्सकहरु बाध्य भएका छन् । उक्त उपकरण नबिग्रिदाँ साँघुरिएका भल्भहरु खोल्ने, एन्जियोप्लाष्टी, एन्जियोग्राफि गर्ने, एरोटिक, पल्मोनरी भल्भोटोमी, मुटुभित्र जन्मजात हुने विभिन्न प्रकारका प्वालहरु ीवनाअपरेशन टाल्ने, असामान्य किसिमका स्नायुहरुको समेत उपचार हुँदै आएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जागिरको प्रलोभन देखाउँदै लुटपाट र बलात्कार” शीर्षकको समाचार छापिएको छ । आफूलाई रोजगार डटकमको म्यानेजर भन्दै युवतीलाई प्रलोभनमा फसाउने, आफू अनुकूलको ठाउँमा बोलाएर लुटपाट तथा बलात्कार गर्ने आरोपमा सप्तरी प्रहरीले जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ सीतापूर बस्ने २९ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ । यादवमाथि ठगी, लुटपाट र बलात्कारका दर्जनभन्दा बढी आरोपहरु रहेको प्रहरीको दाबी छ । एक वर्षअघि यादवलाई मोरङ जिल्ला अदालतले एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर गर्दै सजाय तोकेको थियो । यद्यपि उनी प्रहरीको पहुँचबाट फरार रहेका थिए । यादवलाई गोप्य सूचनाको आधारमा आइतबार राति मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित डेराबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कन्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार भिश्रले जानकारी गराए ।