धरान: सुनसरीको धरान उपमहानगरपालिका ७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकको मोवाइल र सिक्री लुटेर भाग्ने क्रममा उनी पक्राउ परेका हुन् । उनले नोक देखाएरधाकधम्की दिई एक युवकसँग भएको सामसुङ मोवाईल र चाँदीको सिक्री लुटेर तामाङ भागेका थिए । भाग्दै गरेका तामाङलाई वडा प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको थियो । प्रहरीले तामाङको साथबाट प्रहरीले चोरी गरेको मोवाईल र सिक्री समेत बरामद गरेको छ भने तामाङसंगै रहेका अर्का एक जना भने फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसैगरी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा ईटहरीका १६ बर्षीय बालक झापाबाट पक्राउ परेका छन् । मंगलवार साँझ ५ बजेको समयमा झापाको बाह्रदशी गाउँपालिका ३ राजगढ बजारमा तरकारी किन्दै गरेकी स्थानीय एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेका निजलाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।