काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले स्वास्थ्यको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन् ।

उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले विदेशबाट भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक संञ्चालन गरेको प्रसंगमा उनले अब विश्राम लिन आग्रह गरेका हुन् । आज बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर कुरा राख्दै सांसद थापाले मुकुलको प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुख धेरै लामो समयद देशबाहिर रहदा राष्ट्रिय सुरक्षा एवं कुटनीतिक मर्यादामा जोखिम हुने धारणा राख्दै प्रधानमन्त्रीलाई आराम गर्न सुझाए । प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गर्दै थापाले इच्छाशक्ति भएपनि अस्वास्थ्यताको कारणले प्रधानमन्त्रीले काम गर्न नसक्ने दाबी गरे ।

प्रधानमन्त्रीको कार्यबोझ बढेको तर शारीरिक अवस्था कमजोर भएको उल्लेख गर्दै थापाले यस्तो अवस्थामा प्रधानमन्त्रीले दायित्व पुरा गर्न नसक्ने पनि बताए । साथै उनले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्न पनि ध्यानाकर्षण गराए। सांसद थापाको भनाई उदृत गर्दै नागरिकन्यूजले लेखेको छ, “मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ। हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ ? बा धपेडी नगर्नुहोस्। बा आराम गर्नुहोस्। बा विश्राम लिनुहोस्। हामी हाम्रो बालाई यसो भन्छौ। तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ ?”

नेकपाको बहुमत भएको कारण प्रधानमन्त्री छान्न पनि सहज हुने सांसद थापाको भनाई थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति गम्भीर ध्यानाकर्षण गराउदै सांसद थापाले प्रत्येक २ र३ महिनामा १० र १२ दिन विदेश गएर टेलिप्रिजेन्स मार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकिय जिम्मेवारी पुरा हुन नसक्ने बताए ।