काठमाण्डौं: सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको आदेश वदरको लागि उच्च अदालत पाटन, हेटौडा इजलाशले आज कारण देखाउ आदेश जारी गरेको छ ।

लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश वदरको माग गर्दै हिजो मंगलबार उच्च अदालतमा निवेदन दिएका थिए । सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा यही भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५ लाख धरौटी र कँडेलसँग ३ लाख धरौटी माग गरेको थियो । साथै, अदालतको अनुमति नलिई विदेश जान पनि रोक लगाएको थियो । चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रहेर मुद्दा पुर्पक्ष गरि पाऊँ भनी सञ्चारकर्मी लामिछाने र कँडेलले हिजो निवेदन दर्ता गराएका थिए । उच्च अदालतको पाटन, हेटौंडा इजलाशमा बहस पछि १ नम्बर न्यायधीश टेकराज नेपालले आज कारण देखाऊ आदेश जारी गरेका हुन् ।

उच्चको आदेशमा आत्महत्याको विषयमा कुनैपनि सञ्चारमाध्यममा प्रकाशन, प्रसारण वा अभिव्यक्ति दिन किन नमिल्ने, विदेश भ्रमण जानु पर्दा अनिवार्य अनुमति किन लिनु पर्ने र मुलुकी फौजदारी संहिता दफा ६८ बमोजिम प्रतिवादी बनाइएका लामिछाने र कँडेलबाट मुद्दा पुर्पक्षका लागि माग गरिएको धरौटी रकमको समेत स्पष्ट कारण र आधारको विषयमा प्रतिवेदन पेश गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको छ । जिल्लाको प्रतिवेदन २ साता भित्र पेश भएपछि मुद्दाको सुनुवाई हुने बताईएको छ ।