पथरी: पथरीशनिश्चरे क्षेत्रका वासिन्दाको लामो समयदेखी विशेषज्ञ डाक्टर अभावमा निजी अस्पताल वा अन्य शहरमा स्वास्थ्य उपचारको लागि भौतारिनुपर्ने बाध्यता हटेको छ ।

नगरको पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टरसहित नगर अस्पतालमा परिणत भएपछि यहाँका स्थानियवासीले उपचारको लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको हो । नेपाल सरकारले एमबीबीएस डाक्टर सावन मेहेतालाई अस्पतालमा नियुक्ती गरेसंगै यहाँका बासिन्दाले एमविविएस डाक्टरवाट स्वास्थ्य सेवा लिन थालेका छन् । यसले सर्वसाधारणहरुमा खुशी छाएको छ ।

मंगलवार मात्रै मेहत्तालाई नगरअस्पतालमा जिम्वेवारी दिइएको हो । नेपाल सरकारले केही दिनमै अर्का एमबीबीएस डाक्टर साकार घर्तीलाई समेत सो अस्पतालमा पठाउने निर्णय गरेको नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिए । नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको अस्पतालको प्रक्रियामा अगाडि बढेको छ । तत्कालका लागि ५ शैयाको अस्पताल सञ्चालन गर्न सरकारमार्फत एमबीबीएस डाक्टर मेहेताको दरवन्दी तय भएको हो ।

pathari-hospital1

पथरीशनिश्चरे नगरपालिकाको पाँचौ नगरसभाले समेत तत्कालै डाक्टर राखेर ५ शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय पारित गरेको थियो । वडा नम्वर २ मा नवनिर्मित स्वास्थ्य चौकीका लागि स्थानीयले करोडौंको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानियवासीले १० कठ्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिष्ट्रेशन पास गरिदिएका थिए । अस्पताल निर्माण गर्न मात्रै थप १० कठ्ठा जग्गा दिने घोषणा स्थानियवासीले गरेका छन् । पथरी वजारबाट २ किलोमिटर दक्षिणमा स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत १ करोड १४ लाखमा २ तले भवन निर्माण भई त्यहाँ स्वास्थ्य चौकी सञ्चालन भएको छ ।