विराटनगर: लामो समयदेखीअवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् ।

मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा यहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्दै पहल थालेका हुन् । मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गरेका थिए । यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताए । 'यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु,' मुख्यमन्त्री राईले भने,'समस्या राखेर हुँदैन, सबै मिलेर समाधानखोज्नुपर्छ ।' 

विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यकालागि एक दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने पनि बताए । यसको लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताए । 'अब यहाँको समस्या अन्त्य हुन्छ,'मुख्यमन्त्री राईले भने,'विद्युत झ्याप्प झ्याप्पआउने जाने हुनुहुदैन, विद्युतप्राधिकरणले ध्यानदिओस् ।' 

गएको शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन् । गत हिउँदमा पनि कोशी करिडोरको विवाद समाधान गर्न मुख्मन्त्री राई धरानको स्थलगत भ्रमण गरेका थिए । अहिले धरानमा अवरोध हटेर काम भइरहेको छ ।