औजार : आजको औजार दैनिकमा “कांग्रेसको दोस्रो जनजागरण अभियान सुनसरीबाट” शीर्षकको समाचार छापिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीबाट दोस्रो राष्ट्रिय जनजागरण अभियान सुरु गर्ने भएको छ । महानमानव वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट सुरु हुने भएको हो । भदौ २४ गते सुनसरीबाट सुरु हुने जागरण अभियानमा नेपाली कांग्रेसका शिर्ष नेताहरु आउँने भएका छन् । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला, विजय गच्छदार, शेखर कोइराला, सुजता कोइराला लगायतका नेताहरुले सुनसरी आउने कार्यक्रम तय भएको छ । राष्ट्रिय जागरण अभियानलाई लक्षित गर्दै कार्यक्रमको तयारी भइरहेको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “झापामा घरबेटीबाटै बलात्कार” शीर्षकको समाचार छापिएको छ । झापाको मेचीनगर नगरपालिकामा बलात्कारको एउटा काण्डले मेचीनगर गर्माएको छ । दुई वर्षदेखि सहमति मा भइरहेको सम्बन्ध भाडाको घर खाली गर्न भनेपछि अन्ततः बलात्कारमा परिणत भएको आरोपित परिवारको दाबी छ । बलात्कार काण्डका प्रमुख अभियुक्त विष्णु खड्का फरार छन् । खड्काको घरमा २ वर्षदेखि पीडित भनिएकी युवतीको परिवार बस्दै आएको थियो । १९ वर्षीया युवतीसहित परिवार नै बस्दै आएपनि आरोपित परिवारले ५ महिनाको मात्रै भाडा लिएको दाबी गर्दै आइरहेको छ । अति विपन्न भएकाले भाडासमेत नमागेको तर, गाउँघरका छिमेकीले ती परिवारलाई निकाल्न भन्दै दबाब दिएपछि घरबाट निकाल्न खोज्दा बलात्कारको आरोप लगाइएको आरोपितका श्रीमती पुष्पाले बताइन् । मेचीनगर ९ घर भएकी पीडित युवती स्थानीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । युवतीका अनुसार पछिल्लो पटक असार २ गते खड्काले स्थानीय होटलमा लगेर शारीरीक सम्बन्ध राखेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बसपार्क सुनसान बजारमा पार्किङ” शीर्षकको समाचार छापिएको छ । दुईपल्ट उद्घाटन गरिएको पाँचथर फिदिम २ पल्लोटारमा सञ्चालनमा ल्याइएको बसापार्क सुनसान छ । न गाडी रोकिएका छन्, न यातायात व्यावसायीको काउन्टर सन्चालनमा छन्, न त चलहपहल नै ! बसपार्कबाट पास लिन अनिवार्य गरिएकोले केवल पास लिन मात्र गाडीहरु ब्सपार्क पुग्ने गरेका छन् । यता सदरमुकाम फिदिमको बजार क्षेत्रमा जताजतै गाडी पार्किङ गरिएको देखिन्छ । मुख्य सडकमा जामसमेत हुने गर्छ । जताततै बस, जीप, पिकअप, ट्रक, भ्यान, ट्याक्टरलगायतका गाडीहरु पर्किङ गरिएको भेटिन्छ । फिदिम नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको भनिएपनि व्यवसायी गाडी नलैजादाँ बसपार्क कार्यान्वयन हुन सकिरहेको छैन ।

यसैगरी आजकै नागरिक पूर्वेली दैनिकमा “विराटनगरमा वैज्ञानिक भेला” शीर्षकको समाचार छापिएको छ । विराटनगरमा वैज्ञानिक सेमिनार हुने भएको छ । विराटनगरको क्रिशु कन्सल्टेन्सीको आयोजनामा भदौ २१ गते शनिबार सेमिनार आयोजना हुन लागेको हो । विराटनगरको मारवाडी सेवा सदनमा विहान ११ बजेबाट हुने छ । कार्यक्रममा अमेरिकाबाट वैज्ञानिक डा. कपिल पौडेल पनि आउने आयोजकले जनाएको छ । नेपाललगायत विश्वमा चर्चा कमाउन सफल पौडेलले विद्यार्थीसँग आफ्नो दिमागलाई कसरी राम्ररी प्रयोग गर्ने, विद्यार्थीहरुको राइट ब्रेन एक्टिभेसन तथा विद्यार्थीमा हुने स्टे«स म्यानेजमेन्टसम्बन्धी तालिम दिने आयोजक संस्थाका संयोजक दिलेनद्र देवले जानकारी दिए ।