काठमाडौँ: सबैभन्दा पहिला धरानमा देखा परेको डेंगु देशव्यापीरुपमा फैलिने क्रममा राजधानीमा पनि संक्रमण भइसकेको छ ।

सोही क्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल पनि डेंगु लागेर अस्पताल भर्ना भएका हुन् । मन्त्री खनाल हिजो बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएको ई कान्तिपुरले समाचार प्रकाशन गरेको छ ।

प्रेस संयोजक गिरीका अनुसार मन्त्री खनाललाई मंगलबारदेखि हल्का ज्वरो आएको थियो भने उनलाई बुधबारदेखि अस्पताल भर्ना गरिएको हो । मन्त्री खनालको अवस्था सामान्य छ । गिरीले भने,'अस्पतालले पनि डेंगु भनेको छ। तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन।'

शुरुमा मन्त्री खनाल ज्वरो आएपछि निदान अस्पताल गएका थिए । त्यहाँ डेंगुको शंका गरिएको थियो । त्यसपछि उनी बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । मन्त्री खनाललाई डेंगु नै लागेको ग्राण्डीअस्पताल स्रोतले पुष्टि गरेको समाचारमा उल्लेख छ । मन्त्री खनालको आवश्यक जाँचको रिपोर्टमा पनि डेंगु नै भएको पाइएको ईकान्तिपुरको समाचारमा उल्लेख छ।