इटहरी : इटहरी २० तरहराको पुष्पलाल टोलमा रहेको बाटो पक्की नबन्दा स्थानीय आक्रोशित भएका छन् ।पटक–पटक बाटो बन्द भए पनि कालोपत्रे नभएको स्थानीयको गुनासो रहेको छ ।

वैशाख पहिलो साताबाट बनाउन सुरु गरिएको २ सय मिटर बाटो असार २५ गतेसम्म पक्की गरिसक्नुपर्ने थियो । तर, भदौको तेस्रो साता लागिसक्दा समेत बाटोे पक्की भएको छैन । बाटो निर्माणको लागि बाँस राखेर अवरोध गरिएको छ । जसले गर्दा एम्बुलेन्स, दमकल, प्रहरीको गाडी तथा मोटरसाईकल समेत आवतजावत हुदैन । बाटो निर्माणको वहानामा बाटो नै बन्द गरिदा स्थानीयबासी समस्यामा छन् ।

ठेकेदार आनन्द आचार्यले केही दिन अगाडि बाटो पिँच गर्नका लागि रोलर लगाएको र सुक्न समय लाग्ने भएकाले काम रोकिएको प्रतिक्रिया दिए । उनले कपुरीसँग भने, ‘बाटो सुक्नका लागि बन्द गरिएको हो, असारमा नै पिँच गर्ने भनेको बाटो पानी परेका कारण पिँच हुन सकेन ।’ उनले पानी नपरे शुक्रबारबाट पिँच गर्ने प्रतिक्रिया दिए । ‘मैले कसैलाई बाटो बन्द गर्नुपर्छ भनेर भनेको छैन,’ उनले टेलिफोन सम्पर्कमा भने, ‘तपाईहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला बाटो खोल्न सक्नुहुन्छ ।’

उनले दमकल, एम्बुलेन्स, प्रहरीको गाडी र मोटरसाईकल चलाउनका लागि भने बाटो खोल्दा पनि फरक नपर्ने तर्क गरे । ‘बाटो भनेको गाडी कुदाउनकै लागि बनाएको हो, रोलर लगाएपछि केही दिन त बन्द हुन्छ नै,’ उनले भने,‘साउनभरी नगरपालिकाबाट काम नगर्नु भन्ने आदेश आएको थियो तर पानी परेकाले पनि हामीले काम गर्न सकेनौँ ।’

यसअघि पनि बाटोमा गिट्टी मात्र थुपारेको र नसम्याएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उक्त समयमा ठेकदार आचार्यले उपभोक्ता समितिले लेभर सप्लाई गनुपर्ने र आँफूले मिसिन पठाईदिने काम गर्ने बताएका थिए । इटहरी उपमहानगरपालिकाले दश लाख रुपैया बजेट छुट्याएको र अन्य अपुग रकम स्थानीयबासीले नै उठाउने सहमतिमा बाटो निर्माणको काम अगाडि बढेको थियो । उक्त बाटो निर्माण गरिसक्नका लागि करीब १५ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने काम सुरु नभएकोमा ध्यानाकर्षण भएको बताए । उनले भने,‘काम सुरु हुनुपर्ने हो, म यस बिषयमा बुझेर तत्काल काम गर्नका लागि मानिस पठाउँछु ।’ उनले नगरपालिकामा १५ गतेबाट प्रमाणीकरण सुरु भएकाले अब काम हुने दाबी गरे ।