धरान: मध्यराती धरान र इटहरीका दुई विद्यालयमा नेक्रबिक्रम चन्द विप्लव समुहले बम विष्फोट गराएको छ । विष्फोटबाट विद्यालयको कम्पाउण्ड वालमा सामान्य क्षति पुगेको छ ।

विप्लव समुहले धरानको दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा बम विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता विनोद शर्माका अनुसार मध्यराती करिब साढे १२ बजे दुवै स्थानमा विष्फोट भएको हो । ‘राती साढे १२ बजेतिर एकै समयमा दुवै स्थानमा विष्फोट भएको थियो, ठुलो क्षति केही भएको छैन,’डिएसपी शर्माले भने ।

धरानको दिल्ली पब्लिक स्कुलको गेट अगाडि विष्फोट गराएको प्रहरीले जनाएको छ । यस्तै, इटहरीको गोदावरी कलेजको कम्पाउण्डमा क्षति हुने गरी विष्फोट गराएको हो । ‘ठुलो क्षति केही छैन, तर्सासाउने नियतले विष्फोट गराएको हो,’डिएसपी शर्माले भने । उनका अनुसार विद्यालयहरुमा चन्दा माग गरेको तर नदिएपछि तर्साउने नियतले विष्फोट गराएको हो । घटनाबारे छानबिन शुरु गरिसकेको उनले बताए । ‘चन्दा नदिएपछि तर्साउनको लागि विष्फोट गराएको हो, छानबिन गर्दैछौं । विप्लवको सेक्रेटरीको हात हुनसक्छ, उनलाई खोज्दैछौं’उनले भने ।