काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।

सिंगापुरमा उनको ‘प्लाज्मा फेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले स्वदेश फर्किन लागेको बताइएको छ । प्रधानमन्त्री ओली आज मध्याह्न साढे १२ बजे स्वदेश फर्कने तय भएको उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किने बताइएको छ । प्रधानमन्त्री ओली यसअघि साउन १८ मा सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए । उनी उपचार गराएर साउन २७ मा फर्किएका थिए । सिंगापुरबाट फर्किएको १० दिनपछि प्रधानमन्त्री ओली ‘फलोअप’ उपचारका लागि सिंगापुर गएका हुन् । उपचारका क्रममा प्रधानमन्त्री ओलीले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए ।

यसैबीच पटक पटक उपचाका लागि सिंगापुर जाँदा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी नगराइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले सरकारको आलोचना गरेका छन् । उनीहरुले सरकार प्रमुख नै उपचारका क्रममा विदेशमा रहेपनि त्यसको बारेमा कुनै जानकारी नगराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।