धरान: आजदेखि धरानमा २ दिने २८ औं कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलन हुदैछ । यो सम्मेलनको उद्घाटन समारोहमा प्रधानन्यायाधिश, कानुन मन्त्री, न्यायाधिशहरु र महान्यायाधिवक्तासमेत आउदैछन् ।

यस्तै, आजैबाट नेपाल नगरपालिका महासंघको १ नं प्रदेशस्तरीय भेला पनि धरानमा नै हुदैछ । उक्त कार्यक्रमको लागि मुख्यमन्त्री शेरधन राई पनि धरान आउदैछन् । अति विशिष्ट व्यक्तिहरु धरान आउने भएपछि हिजो बिहिबारदेखि नै सुरक्षा सजगता अपनाइएको थियो । तरपनि मध्यराती करिब साढे १२ बजे धरान र इटहरीमा बम विष्फोट भयो, त्यो पनि दुई शैक्षिक संस्थामा ।

धरानको दिल्ली पब्लिक स्कुलको मेनगेट र इटहरीको सुष्मा गोदावरी कलेजको कम्पाउण्डमा क्षति पुग्ने गरी बिष्फोट भएको छ । ठुलो भौतिक तथा मानवीय क्षति छैन । तर, यसले सुरक्षा चुनौती भने बढाएको छ । चन्दा नदिदा तर्साउने नियतले विप्लव समुहले विष्फोट गराएको भनिएको छ । त्यहाँ विप्लव समुहले कुन बम पड्काएको हो भनेर पनि अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार विष्फोट गराउन प्रायः जिलेटिन प्रयोग गरेर सुतली बम प्रयोग गरिएको हुन्छ । यहाँ पनि त्यस्तै विष्फोट गराएको उनको अनुमान छ । ‘दुवै ठाउँमा सुतली बम पड्काएको हो कि भन्ने छ, तर त्यो पनि अनुसन्धानमा छौं,’शर्माले भने । तर, धरानमा भने शक्तिशाली कुकर बम विष्फोट गराएको हो कि भन्ने अनुमान छ । किनभने, डिपिएसको मेनगेटमा भएको बिष्फोटले केही दुरीमा भएको विपी प्रतिष्ठानको चिकित्सकहरु बस्ने आवास(क्वार्टर)को झ्यालका सिसाहरु पनि फुटेको छ । प्रहरीले घटनास्थलबाट कुकरको टुक्रा भेटेको प्रहरी स्रोतको भनाई छ । तर, धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने अहिल्यै यकिन भन्न नसकिने बताए ।

bisfod-bom dps-dhrn-bisfod'