धरान: सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जङ्ग बहादुर राणाले न्यायलयलाई सुधार गर्न आफु कटिवद्ध भएर लागिपरेको बताएका छन् ।

नेपाल बार एशोसिएशनद्धारा आयोजित २ दिने कानून व्यवसायी महिलाहरुको २८ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै प्रधानन्यायाधीश राणाले न्यायलयलाई सुधार गर्न न्यायधिशबाटै शुरुवात गरेको पनि बताए । राणाले आफ्ना सहकर्मीहरुलाई मर्यादित बनाउन आफुलाई परिमार्जन गर्न पटक पटक भनेको पनि सुनाए । ‘न्यायलयलाई सुधार गर्न न्यायधीशबाटै लागि परेको छुँ, मेरा सहकर्मीहरुलाई पटक पटक परिमार्जन हुन, मर्यादित हुन भनेको छुँ,’उनले भने ।

न्यायलयमा न्यायधीशहरुको भन्दा बढी विचौलियाको भुमिका हुने आम जनगुनासोप्रति आफु निक्कै गम्भीर भएको खुलाउदै प्रधानन्यायाधीश राणाले आफ्नो प्रमुख ध्यान नै विचौलियाको भुमिकालाई अन्त्य गर्नतर्फ केन्द्रीत रहेको बताए । निष्पक्ष, स्वतन्त्र र सुदृढ न्यायपालिका बनाउने आफ्नो एक मात्र लक्ष्य भएको उनको भनाई थियो । ‘न्यायपालिकामाथि धेरै प्रश्नहरु खडा भयो, विचौलियाको भुमिकाबारे कुरा उठ्यो, त्यसलाई न्युनीकरण गर्ने मेरो ध्यान केन्द्रीत छ, र स्वतन्त्र, सुदृढ न्यायपालिका होस् भन्ने चाहन्छु,’उनले भने ।

राणाले न्यायमा ढिलासुस्ती, वदनियत, अनियमितता र गैरन्यायिक आचरण आफुलाई कुनै पनि हातलमा सह्य नभएको प्रष्ट पारे । यी बिषयमा औला उठेमा तत्काल सम्बोधन हुने पनि उनले प्रष्ट्याए । ३३ किलो सुनकाण्डमा उच्च अदालत विराटनगरका न्यायधीशमाथि भएको कारबाहीबारे पनि उनले प्रष्टीकरण दिदै छानबिन प्रतिवेदनकै आधारमा न्याय परिषदले कारबाही गर्ने निर्णय गरेको बताए । सर्वोच्चले उच्च अदालतकै आदेश सदर गरेको सन्र्दभमा न्यायधीशमाथिको कारबाहीबारे भएको टिकाटिप्पणीबारे उनले भने,‘म विद्धार मित्रहरुलाई यही मञ्चबाट अनुरोध गर्न चाहन्छु, आदेशबारे कुरा उठेपछि छानबिन भएर प्रतिवेदन वमोजिम कारबाही भएको हो ।’