झापा : झापाको कनकाई नगरपालिका – २ जामुनवारी निवासी एक महिलालाई बोक्सी लागेको भन्दै तातो पुन्यूले डामेर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४० वर्षीया शान्ता वुढाथोकी र २१ वर्षीय दिनेश दर्जी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रवार (गए) राति पौने ११ बजे पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

गत विहीवार स्थानीय २२ बर्षीया बबिता दर्जीलाई उनीहरुले बोक्सी लागेको भन्दै झार फुकको नाममा पित्तलको पुन्यू अगेनामा तताएर बाँया गाला र दाहा हातमा डामेका थिए । सामान्य ज्वरो आएर झार फुकका लागि वुढाथोकीको घरमा पुगेकी उनलाई तातो पुन्युले डामेको बताइएको छ । तातो पुन्यूले डामेर घाइते बविताको स्थानीय अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक थापाले बताए । ऐनमा कसुर गर्ने व्यक्तिलाई पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।