काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् । उनले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताएका छन् । अफगानीस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष विशेष अमेरिकी राजदुत जल्मे खलीलजादले सोमबार तालिवानीसँग् वार्ता हुने मिति तय भएको बताएका थिए । तर वार्ताको एक दिन अघि नै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँग वार्ता नगर्ने घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रस्तावित सम्झौतामा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट पाँच हजार भन्दा बढी सैनिक फिर्ता लैजाने उल्लेख गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाले हमला गर्न थालेपछि विद्रोहीको निशानामा परेर मारिएका तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकमध्ये दुई हजार तीन सय अमेरिकी सेना रहेको बताइएको छ ।

आक्रमणमा अहिलेसम्म ३२ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।