धरान : नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमिति तथा संयुक्त इकाइ समिति धरानले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई आईतबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।

विद्यार्थीका लागि सरकारले निर्धारण गरेको गाडी भाडा ४५ प्रतिशत छुटको प्रावधान पूर्णरुपमा कार्यन्वयन हुनुपर्ने तथा पोशाकका विद्यार्थी देख्ने बित्तिकै बिसौनीमा गाडी नरोक्ने वा रोक्न नखोज्ने परिपाटी अन्त्य गर्नुपर्ने माग राख्दै नेविसंघले ध्यानाकर्षणपत्र बुझाएको हो ।

नेविसंघले सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुखलाई समेत शनिबार ध्यानाकर्षणपत्र बुझाइसकेको छ । नेविसंघ सुनसरी जिल्ला समितिको समन्वयमा धरानका चार वटै आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर, हात्तिसार र इञ्जिनियरीङ क्याम्पसका नेविसंघमा आवद्ध विद्यार्थीहरुले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहाललाई बुझाएका हुन् ।

महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ कार्यवाहक सभापति तथा ध्यानाकर्षण समितिका संयोजक दोर्ची शेर्पाले पोशाकका विद्यार्थी बस बिसौनीमा देख्ने बित्तिकै सकभर गाडी नरोक्ने र रोके पनि छुट दिन आनाकानी गर्ने कार्य तत्काल रोक्नुपर्ने बताए । साथै संयोजक शेर्पाले आरक्षण सिटमा आरक्षित समूहले बस्न नपाइरहेको अवस्था तर्फ पनि प्रशासनले ध्यान दिनुपर्ने बताए । संयोजक शेर्पाले भने, ‘शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छौं, आइतबार प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालको अनुमतिमा प्रहरी निरीक्षक समक्ष ध्यानाकर्षणपत्र बुझाएका हौं ।’

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले नेविसंघको माग अनुरुप यही भदौ महिना भित्रै व्यवसायि, मजदुर, विद्यार्थी सहित सबै पक्षीयसंग छलफल गर्ने बताए । प्रमुख दाहालले भने, ‘प्रदेश १ भरी नै हामी तुरुन्त विद्यार्थीको आरक्षण कार्यन्वयन भए नभएको साथै वृद्ध, अशक्त, महिला, आरक्षण सिट समेत निगरानी अघि बढाउने छौं ।’

1 1

यता विद्यार्थी प्रतिनिधि, यातायात व्यवसायी र प्रशासन समेतको पटक–पटक बसेको संयुक्त वार्ता तथा छलफलले विद्यार्थीलाई सुविधा दिने निर्णय भएपनि व्यवसायीको तर्फबाट कार्यान्वयन नभएको नेविसंघको गुनासो छ । यसैगरी नेविसंघ सुनसरीका सचिव टेकेन्द्र राई, पिण्डेश्वर विद्यापीठका सभापति सरोज अधिकारी, हात्तिसारका सभापति निशान भुजेल, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका सभापति कुशल घिमिरेद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा ध्यानाकर्षणलाई बेवास्ता गरिए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।