धरान: उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान चाहेको बताएका छन् ।

विपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा विपी प्रतिष्ठानको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया पनि अघि बढाइसकेको बताए । 'विगतको समस्या भविष्यमा नदेखिने गरी समाधान गरौं, सरकार समाधान चाहन्छ, र यसको लागि प्रक्रिया पनि अघि बढीसकेको छ,'मन्त्री यादवले भने ।

प्रतिष्ठानमा जटिल समस्या देखा परेको भन्दै मन्त्री यादवले सबै मिलेर नै समाधान गर्नुपर्ने बताए । प्रतिष्ठानलाई सुधार गर्न राम्रो समझदारी र सहकार्य आवश्यक भएको पनि मन्त्री यादवले बताए । सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा अस्पताल र प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ट्रसरी अस्पताल बनाउने पनि बताए । मन्त्री यादवले प्रतिष्ठानलाई छुट्टै विश्व विद्यालय बनाउने तयारी भएको पनि बताए । उनले पछिल्लो सयम देशभरी फैलिएको डेगुं नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउदैं सरकारले त्यसका लागि अभियान चलाएको बताए ।

bpkihs

प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानको अवस्थाबारे संघीय सरकारको ध्यानाकर्षण गराउदै समाधानको लागि गम्भीर हुन आग्रह गरेका थिए । उनले स्वास्थ्य उपचार सेवा, शिक्षण गुणस्तरीय बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । 'प्रतिष्ठानको अवस्था सुधार गर्न संघीय सरकारले ध्यान दिनुपर्छ, यहाँ अनुशासन कायम हुनुपर्छ । खाली पोष्ट चाडै नियुक्ती गर्नुपर्छ, र रोकिएको ठुला आयोजनाहरु सुचारु हुनुपर्छ,'सभामुख भण्डारीले भने ।

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल, प्रदेश १ का प्रमुख गोविन्द तुम्बापो, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, अमेरिकास्थित बासिङटन डिसी युनिभर्सिटीका प्रा.डा. रामानन्द लक्ष्मी नारायणलगायतले सम्बोधन गरेका थिए ।