धरान: धरानमा जारी प्रथम टुबोर्ग अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बिगफुट फुटबल क्लब धरानले फेयर फुटबल क्लबलाई पराजित गरेको छ ।

बिगफुट फुटबल क्लबले फेयर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेलमा ४–४ गोलको बराबरी भएपछि टाइब्रेकरमा बिगफुटले जितेको थियो । बिगफुटका लागी दिप्सो राईले २ गोल गरे भने रिवस मास्केले एक गोल गरे । एक गोल भने आत्माघाती भएको थियो । त्यस्तै फेयरका लागी सुवास तामाङ, दिवस सुनुवार, विशाल भट्टराई र साजन राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बिगफुटका रिवस मास्के घोषित हुँदै नगद एक हजार सहित ट्रफि प्राप्त गरे । मंगलबार पटनाली फुटबल क्लब र कान्छो फुटबल क्लबबीच खेल हुने आयोजक शिलनशिल युथ क्लबका महासचिव डिल्ली राईले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता असोज ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।