विर्तामोड : नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेसको १४ औं महाधिवेशनमार्फत वी.पीको सिद्धान्तलाई पूर्ण रुपमा पछ्याउने कि ? वी.पीको विचार छोड्ने ? भन्ने प्रश्नको निराकरण गर्नुपर्ने बताएको छ । नेपाली कांग्रेसले वी.पी.को प्रजातान्त्रिक विचारधाराको अनुशरण गरेपनि समाजवादी विचारधाराको पूर्ण अनुशरण गरेमात्रै कांग्रेसको भविष्य सुन्दर हुने बताउँदै यस्तो धारणा राखे ।
नेपाली कांग्रेस झापा क्षेत्र नं २ को आयोजनामा १०६ औं वी.पी जयन्तीको अवसरमा सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता शिवाकोटीले वी.पी विश्वमै समाजवाद स्थापित गर्ने नेताको रुपमा स्थापित भएको धारणा राखे ।
‘वी.पी.ले कम्युनिष्टसँग मिलेर आन्दोलन नगर्नृु, राजतन्त्र नफाल्नु भन्नुभएको थियो’ वीपीसँगको भेटमा भएका कुराको स्मरण गर्दै शिवाकोटीले भने–‘हामीले त्यो कुरा मानेनौ ।’ उनले युवापुस्तामा वीपीको विचार प्रवाह गर्न समेत नसकिएको बताउँदै भने–‘अहिले वी.पी.को विचार एकातिर छ, कांग्रेस अर्कैतिर छ।’
कम्युनिष्टहरुको हातमा सत्ता परेपछि अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथि खतरा बढेको बताउँदै उनले भने,‘चिनमा कम्युनिष्ट सत्ता छ, त्यहाँका जनताले राष्ट्रिय प्रशारणभन्दा बाहिरको समाचार सुन्न पाउँदैनन्, विचार अभिब्यक्त गर्न पाउँदैनन् । नेपालमा पनि त्यसैको अभ्यासको प्रारम्भिक स्वरुप देखिदैछ, मिडिया काउन्सिल विधेयकको उद्देश्य त्यस्तै देखिन्छ ।’ उनले अर्थतन्त्रको सवालमा नेपालमा वीपीको समाजवादभन्दा पनि अमेरिकन पूँजीवादलाई भित्रिएको धारणा राखे ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कम्युनिष्टहरुले बुलेटबाट सत्ता प्राप्त गर्ने बाटो रोज्ने गरेको बताउँदै लोकतन्त्रवादीले स्वाभिमान, स्वतन्त्रता र विचारबाट सत्ता प्राप्तिको बाटो खोज्ने गरेको दृष्टान्त पेश गरे ।
‘वीपीका विचारको सही अर्थमा अनुयायी भएमात्रै कांग्रेस हुइन्छ’ भन्नुहुँर्दै सभापति थापाले पछिल्लो समय वीपीको विचार ओझेलमा पर्दै गएको धारणा राखे ।
झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका सदस्य पार्वता गिरी, नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायतले शुभकामना मन्तब्य राखे ।
क्षेत्रीय उपसभापति धर्म लक्सम्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरण श्रेष्ठले गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–१ ले पनि १०६ औं वी.पी जयन्तीको अवसर पारेर राष्ट्रिय राजनीति र वीपीको विचार सम्बन्धी विचार गोष्ठी सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव प्रेम सम्बाहाम्फे, दुर्गा खतिवडा, मेचीनगर सभापति इन्द्र बुढाथोकी, अर्जुन राई लगायतले वी.पी.को प्रजातान्त्रिक समाजवादी सिद्धान्त र वर्तमान राजनीतिक परिवेशबारे धारणा राखे ।
नेपाल कांग्रेस झापा क्षेत्र नं–१ का सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति हर्क फियाक र सञ्चालन हरि बुढाथोकीले गरे ।
यता झापा क्षेत्र नं–४ मा पनि १०६ औं वी.पी जयन्तीको अवसर पारेर विचार गोष्ठी सम्पन्न भएको छ । झापा क्षेत्र नं–४ का सहसभापति भीम प्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य गोपाल उप्रेती, क्षेत्रीय सचिव शिव कडेल, कनकाई नगर सभापति नेत्र चिमरिया लगायतले मन्तब्य राखे ।