काठमाडौं : फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै छ ।

खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिनेछ ।
विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताएका छन् ।

ताईपेइमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए । नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।