इटहरी : इटहरीमा नवौ पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन भएको छ ।
मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ब्याडमिन्टन प्रतियोगिताको उद्धघाटन गरे ।

उद्धघाटनपछि सम्बोधन गर्दै राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन प्रदेश सरकारले तयारी सुरु बताए । ‘यो रंगशालालाई प्रदेश सरकारले बिशेष चासोका रुपमा लिएको छ,’ उनले भने, ‘रंगशालालाई प्रादेशिक रंगशाला बनाउँन हामीले काम सुरु गरिसकेका छौँ ।’ उनले इटहरी रंगशाला परिसरमा बिभिन्न १२ वटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माणको क्रममा रहेको बताए । उनले भने, ‘इटहरी रंगशाला इटहरीको मात्र नभई प्रदेशकै सम्पत्ती हो, यसलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’

मुख्यमन्त्री राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन एक करोड रुपैँया बजेट बिनियोजन गरेको बताउँदै १ नं. प्रदेश खेलकुद क्षेत्रको उर्वर भूमी रहेको तर्क गरे । उनले भने, ‘१ नं. प्रदेश हरेक क्षेत्रमा अगाडि रहेको छ, हामीकहाँ खेल क्षेत्रको पनि पर्याप्त सम्भावना रहेको छ, त्यसैले हामीले यो बर्ष खेलकुद क्षेत्रका लागि ४२ करोड बजेट विनियोजन गरेका छौँ ।’

sherdhan-rai 1

उक्त कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री जीबन घिमिरेले प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले खेलकुद मैदान बनाउने कामलाई तीब्रता दिएको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का निबर्तमान सदस्य सचिव केशवकुमार बिष्टले इटहरी खेलकुद क्षेत्रको लागि भौतिक पूर्वाधारले सुबिधायुक्त मात्र नभई हरेक हिसाबले सुविधायुक्त रहेको तर्क गरे । राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजनमा सुरु भएको प्रतियोगिता सुनसरी व्याडमिन्टन एकेडेमी इटहरीको सह आयोजनामा सुरु भएको हो । ५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २ सय जनाले बेग्ला बेग्लै समुह अन्र्तगत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेस कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष सिंगल, डबल महिला सिंगल डबल, यु १७ युवा सिंगल, यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरि प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले जानकारी दिए ।