धरान : धरानमा जारी प्रथम टुबोर्ग अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पटनाली फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

पटनालीले धरानको कान्छो फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पटनालीका तपन कार्कीले  ह्याट्रिक गरेका थिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । त्यसतै भीमकुमार राईले एक गोल गरेका थिए । कान्छो फुटबल क्लबकालागि सान्त्वना गोल आशुतोष लिम्बूले गरेका थिए । बुधबार आयोजक रातो र सञ्जीवनी केन्द्रबीच खेल हुने आयोजक शिलनशिल युथ क्लबका कोषाध्यक्ष रोशन कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता असोज ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।