धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको ध्यान गाउँको विकासमा केन्द्रीत रहेको स्मरण गर्दै उनको विचार र नीति ठिक थियो भन्ने कुरा अहिले पुष्टि भएको बताएका छन् ।

वीपी चिन्तन प्रतिष्ठानले धरान १३ र २० स्थित वीपी स्मृति पार्कमा आयोजना गरेको कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै सभापति कोइरालाले हिजोआज शहरीकरणको कारण नेपालको दुर्गम पहाडी गाउँ, वस्ती रित्तिन थालेको बताए । ‘नेपाल गाउँले बनेको देश हो, त्यसैले गाउँको विकास गर्नुपर्छ भन्नेमा उहाँको ध्यान थियो,’सभपाति देउवाले वीपीको स्मरण गर्दै भने,‘अचेल शहरीकरणले गाउँ खाली हुन थाल्यो, पहाड उडाछ छ । यही अवस्था आउछ भनेर वीपीले त्यतिबेलै गाउँमा विकास पुर्यानुपर्छ भन्नुभएको रहेछ ।’

गाउँको विकासको लागि चाहिने आधार, पुर्वाधारको लागि इन्टरमेडिएट(मध्यमस्तर) टेक्नोलोजी विकासको कुरा वीपी कोइरालाले अघि सारेको पनि देउवाले बताए । ‘पहाडमा अझै पनि ट्याक्टर सबैतिर चल्न गाह्रो छ, त्यसैले हलोलाई नै सुधार गर्नुपर्छ भन्नुहुन्थ्यो,’देउवाले भने,‘सुविधा गाउँमा दिनुपर्छ । गाउँको विकास, समृद्धि नभै गरिबिको अन्त्य हुदैन भन्नुहुन्थ्यो ।’

प्रजातन्त्रविनाको समाजवाद होइन

deuba

सभापति देउवाले नेपालमा वीपी कोइरालाले भित्र्याएको प्रजातान्त्रिक समाजवाद विचारको अहिले संसारमा लहर चलेको बताए । वर्तमान सरकारले प्रजातान्त्रिक अधिकार, मुल्य र मान्यतालाई खोस्न खोजिरहेको देउवाले आरोप लगाए ।

उनले प्रजातन्त्रको मुल्य, मान्यता र आधारमाथिकुनै पनि सम्झौता नहुने जिकिर गर्दै वीपी कोइरालाले पनि प्रजातन्त्रसहितको समाजवादको विचार ल्याएको बताए । ‘वीपीले समाजवाद पनि प्रजातन्त्रसहितको भन्नुभएको हो, प्रजातन्त्र विनाको होइन,’देउवाले भने,‘हाम्रो मुख्य सर्त नै प्रजातन्त्र हो । बोल्न पाउने, लेख्न पाउने स्वतन्त्रता हो ।’

सोही कार्यक्रममा बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि वीपी कोइरालाले ल्याएको विचार नेपालमा मात्र नभै विश्वमै स्थापित हुदै गएको धारणा राख्दै त्यो विचारलाई पृष्ठपोषण गर्नुपर्ने बताए । ‘संसारमा जे जति विचार परीक्षण भयो, सबैको निष्कर्ष लोकतान्त्रिक विचारधारा नै भयो । जनताको अभिमत लिएर शासन गर्ने पद्दती स्थापित भयो,’महतले भने,‘वीपीले ल्याउनु भएको प्रजातान्त्रिक समाजवाद विचारलाई नेपाली समाजमा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो ।’

congress 4

लोकतन्त्र भनेको जनतालाई सुखी र समृद्धि बनाउनु रहेको बताउदै महतले राजनीतिक दलहरुबीचमा नीतिगत भिन्नता मात्र रहेको तर लक्ष्य भने एउटै भएको पनि बताए । ‘वीपीको विचार अनन्तकालसम्म जाने हो । वीपीले उत्पादन बढाउनुपर्छ भन्नु भएको छ, त्यसको लागी लगानी हुनुपर्छ, र लगानीको लागि वातावरण बनाउनुपर्छ भन्नुहुन्थ्यो,’महतले भने,‘प्रविधिको विकाससँगै साधन फेरिन्छ, र लक्ष्य फेरिन्दैन । हाम्रो लक्ष्य हरेक नेपाली धनी, सुखी र समृद्ध बनाउने हो, वीपी विचारको मुल सार नै यही हो ।’