धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको नगरसभा बुधबारदेखि धरानमा शुरु भएको छ । तीन दिने सभाको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचन जित्नको लागि जनताको मन जित्न आवश्यक भएको पनि बताए । उनले पार्टी नेता, कार्यकर्ताहरुलाई जनताको मन जित्न जनताको घरदैलोमा पटक पटक पुग्न पनि निर्देशन दिए । उनले भने,‘जनता सर्वशक्तिमान हो, त्यसैले जनताको मन जित्नुपर्छ । जनताको घरमा पुग्नुस्, एक पटक होइन, ३ पटक ४ पटक पुगेर भेट्नुस् ।’

धरानमा आगामी मंसिर १४ मा हुने उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै उनले जनताको मन जित्न कार्यकर्ताहरुलाई निर्देशन दिए । धरानमा आगामी मंसिर १४ गते मेयर पदको चुनाव हुदैछ भने वडा नं ७ को वडा अध्यक्षको पदमा पनि चुनाव हुदैछ । देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि नै प्रहार गरिरहेको र जनताको अधिकार खोस्ने प्रयास भएको पनि आरोप लगाए । सरकारको यो कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गर्ने देउवाले बताए । ‘जनताको अधिकार कुण्ठित पार्ने काम भइरहेको छ । मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगको अधिकार खोस्ने काम हुदैछ, यो सर्वसत्तावाद ल्याउने प्रयास हो,’देउवाले भने,‘जनताको अधिकार रक्षाको लागि कांग्रेसले डटेर सामाना गर्छ ।’

congress 5

उपसभापति विजय गच्छदारले प्रजातन्त्र र जनताको अधिकारको लागि लडेको पार्टी कांग्रेस भएपनि धरान क्षेत्रमा भने कहिल्यै जित्न नसक्नु विडम्वना भएको बताए । धरानमा सधै कम्युनिष्टहरुले जिते पनि विकास हुन नसकेको गच्छदारको भनाई थियो । कांग्रेसलाई जिताए धरानको विकास हुने उनले बताए ।
यस्तै,कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले पनि धरानमा कांग्रेसले जितेमा परिवर्तन र सुशासनको अनुभूति दिलाउने बताए । वर्तमान केपी शर्मा ओलीको सरकारले भ्रष्टचारलाई झनै संस्थागत गरेको महतको आरोप थियो । ‘जनता सुखी होइन, केही नेताहरु मात्र सुखी छन्, सरकार भ्रष्टचार अन्त्य होइन, अरबौं कमिशन र भ्रष्टचारमा डुबेको छ,’उनले भने,‘यो सरकारले अरबौंको ठेक्का पनि विना प्रतिस्पर्धा दिइरहेको छ ।’

samman

केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले धरान हिजो र आजमा कुनै फरक नभएको भन्दै किन मुहार फेरिएन भनेर जनताले सोच्नुपर्ने बेला भएको बताए । झुटो आश्वासन दिएर राजनीति गर्न नहुने भन्दै उनले खोक्रो नाराको पछि नलाग्न पनि आग्रह गरे । अर्का नेता मीन विश्वकर्माले पनि धरानको विकास र समृद्धिको लागि अब नयाँ नेतृत्व जिताउन आवश्यक भएको बताए ।

कार्यक्रममा विभिन्न शीर्ष नेताहरुले पनि सम्बोधन गरेका थिए । समारोहमा पार्टी कार्यालयको लागि जग्गा प्रदान गर्ने दिलुकुमारी राई(वडा कार्यालय १८ सदस्य), चन्द्र प्रसाद श्रेष्ठ(धरान १२), ८७ बर्षीय कृष्णप्रसाद आचार्य(धरान ६) र महिला नेतृ उमा बास्तोलालाई सम्मान गरिएको थियो । वडा १८ की सदस्य दिलुकुमारी राईले पार्टी कार्यालयको लागि १ कट्ठा ५ धुर जग्गा प्रदान गरेकी छिन् ।

deubaa IMG_0779 congress-p