धरान: दुई दिनअघि मंगलबार राती धरान ५ देउरालीस्थित एक घरबाट सुनचाँदीको गरगहना चोरी गर्ने दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ५ कै ३६ बर्षीय सुर्यबहादुर विश्वकर्मा र ३३ बर्षीय भक्तबहादुर विश्वकर्मा रहेका छन् ।

स्थानीय नरवती राई घरमा छोरा सुताएर छिमेकीको घरमा पुगेर राती १० बजे फर्कदा आफ्नो घरबाट सुर्यबहादुर र भक्तबहादुरलाई निस्कदै गरेको देखेका थिए । उनले दुवैलाई देखेपछि मेरो घरमा किन पस्नुभएको भनेर सोधेपछि दुवै केही पनि नबोली फरार भएका थिए । आफ्नो घरभित्र पसेर हेर्दा दराज खुला थियो भने त्यहाा राखिएको सबै सुनचाँदीका गरगहनाहरु चोरी भएको थियो ।

पीडित राईले तत्काल इलाका प्रहरी कार्यालय धरानमा खबर गरेपछि दुवैलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको शरीर खानतलासी गर्दा सुनको गहना जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थानसमेत गरी जम्मा ३ तोला ५ आनी २ लालको भेटिएको प्रहरीले जनाएको छ । ती सुनको गहनाको मुल्य २ लाख ३८ हजार ५ सय ७८ रुपैया रहेको छ ।

यस्तै, उनीहरुको साथबाट नै चादीको गहना ब्रासलेट २ थान, सिक्री १ थान भेटिएको छ । यसको ५ हजार ९ सय ५५ रुपैया हुन्छ । ती गरगहनाहरु पीडित राईको घरबाट चोरी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई पक्राउ गरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

झ्याल, ढोका वलियो बन्द गर्न प्रहरीको आग्रह

chorii

नजिकिदै गरेको चार्ड पर्वमा चोरी हुने सम्भावना बढ्ने भन्दै प्रहरीले आफ्नो घरको झ्याल ढोका तथा घरभित्र दराज लगायतमा राम्रोसंग बन्द गरी ताला लगाएर सुरक्षित रहन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।घरबाट बाहिर निस्कदा ताला लगाउन र रातको समयमा घरको झ्यालढोका राम्रोसँग थुनेर मात्र सुत्न पनि प्रहरीले आग्रह गरेको छ ।

लामो समय घरबाट बाहिर जाँदा र घरमा कोही नहुने अवस्था भएमा प्रहरीलाई सुचना दिन पनि इलाका प्रहरी कार्यालय धरानले सबैमा आग्रह गरेको छ । आफ्नो धनमालको सुरक्षामा संवेदनशील हुन र शंका लागेको व्यक्ति घरगाउँमा देखा परे प्रहरीलाई सुचना दिनहुन समेत सर्वसाधारणलाई ईलाका प्रहरी कार्यालय धरानले अनुरोध गरेको छ ।