धरान: तरुण दलको जिल्ला उपसभापति सन्तोष बिकसहित ४ जनालाई जिल्ला अदालत सुनसरीले ज्यान मार्ने उद्योगमा जनही २ बर्ष कैद र जनही ५० हजार जरिवाना तोकेको छ ।

तीन बर्षदेखि मुद्दा खेपिरहेका बिकसहित सेते भनिने नरसिंह राई, कान्छा भनिने प्रदिप राई र अनिल रसाइलीलाई आज जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतका १ नम्बर न्यायाधिश राधाकृष्ण उप्रेतीको इजालाशले निवेदकको आंशिक दाबी पुग्ने फैसला गर्दै यस्तो सजाय तोकेहो हो । उनीहरुमाथि तत्कालिन एमाले धरान नगर कमिटि सदस्य तथा युवा फाँट इञ्चार्ज दिवस राईमाथि आक्रमण गरेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका थिए ।

कैद सजाय पाएका ४ जनाबाट पीडित दिवस राईलाई जनही ३० हजार क्षतिपूर्ति भराउने आदेश पनि भएको जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए । उनका अनुसार कैद सजाय पाएकाहरुलाई ७० दिनको म्याद जानेछ । त्यो समयावधिभित्र उनीहरुले पुनरावेदन दिन पाउनेछन् । पुनरावेदन नदिए उनीहरु जेल जाने पोखरेलले बताए ।

यसअघि, भदौ १५ गते न्यायाधि उप्रेतीले सोही मुद्दामा २ जनालाई सफाई दिएका थिए भने एक जनाको म्याद तामेल नहुदा मुल्तवीमा छन् । अदालतले दिपक भनिने डम्बरसिंह लिम्बू र जोनिस तुलाधर श्रेष्ठलाई सफाइ दिएको थियो भने राजेश गुरुङको म्याद तामेल भएको छैन । निवेदनमा राजेश गुरुङ उल्लेख भएपनि उनको नागरिकतामा तामाङ भएकोले व्यक्ति पहिचान हुन सकेको छैन ।

दिवस राईमाथि २०७३ माघ १६ गते राती धरान १८ स्थित शिवमार्गमा सांघातिक आक्रमण भएको थियो । विपी प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौं उपचारको लागि लगिएको थियो । दिवसलाई सन्तोष बिकसहितको समुहले धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनाकै दिन बिक पक्राउ परेपनि पछि धरौटीमा छुटेका थिए ।