इटहरी: इटहरीमा जारी पुष्पलाल स्मुति ब्याडमिन्टनमा सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे । अव उनले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६, २१–१६ को जित निकाले ।
सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ संग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१–७, १८–२१, २१–११ को जित निकाले । पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६–२१, २१–७, २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६–२४, २१–१९ ले पराजित गरे ।

यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६, २१–१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१–१५, २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।