झापा : इलामको दक्षिणी गाउँपालिका रोङ–४ मा अवस्थित बालकल्याण आधारभूत विद्यालय भौगोलिक हिसाबले विकट क्षेत्रमा रहेको छ । यस विद्यालयमा कक्षा ५ सम्म पढाई हुने गरेको छ । यहाँ अध्ययन गर्न आउने विद्यार्थी घण्टौं हिँडेर विद्यालय आउन बाध्य छन् ।

भौगोलिक विकटता, जन्मदर न्यून हुँदा सो विद्यालयमा विद्यार्थी संख्या वर्षेनी घट्दै गएको बताइएको छ । त्यस क्षेत्रका सम्पन्न मानिएका व्यक्तिहरु छोराछोरीलाई स्तरीय शिक्षा दिन बँसाईसर्ने गरेका छन् भने विपन्न वर्गका सर्वसाधारणका लागि त्यहि एउटा विद्यालय छोराछोरी पढाउने विद्यालयका रुपमा रहेको छ । घट्दो विद्यार्थी संख्या, बसाईसर्ने क्रमले त्यस विद्यालयमा विद्यार्थी संख्या घटिरहेको हो । हालको शैक्षिक सत्रमा जम्मा १८ जनामात्र विद्यार्थी अध्ययन गर्ने गरेका छन् । यद्यपी नियमित विद्यालय आउनेको संख्या १४ हाराहारी हुने गरेको छ ।

विद्यार्थी संख्या घट्न थालेपछि विद्यालय परिवार भएका विद्यार्थी टिकाउन र थप गर्ने योजनामा रहेको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष ४,५ जना विद्यार्थी बढेपनि आधारभूत तहसम्मका लागि १८ जना विद्यार्थी मात्र हुनुले विद्यार्थीको संख्या अत्यत्यै कम रहेको पाउन सकिन्छ । रोङ गाउँपालिकामा पर्ने यस विद्यालयको समस्या समाधान गर्न स्थानीय वन समिति तथा संघसंस्थाले सहयोग गरेपनि गाउँपालिकाले खासै सहयोग नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राई बताउँछन् ।

वि.स. २०४४ सालमा स्थापना भएको यस विद्यालयमा यतिवेला भएका विद्यार्थीलाई टिकाउने र अरु विद्यार्थी थपगर्ने तर्फ सरोकारवालाहरु जुट्नुपर्ने अवस्था देखिएको छ । यस विद्यालयलाई टिकाइ राख्न र यहाँका विद्यार्थीलाई यहिँ नै गुणस्तरीय शिक्षा दिने कुरामा केही भने लागि परेका छन् ।

भौगोलिक हिसावले विकट, पढ्ने उमेरका विद्यार्थी नै गाउँमा नहुनु समस्या हो तर जति पनि वालवालिका छन् सबैले शिक्षा पाउनुपर्ने उनीहरुको अधिकार हो । लामो बाटो हिँडेर विद्यालय जानुपर्ने यहाँका वालबालिकाको बाध्यता हुँदा हुँदै पनि विद्यालय टिकाउने चुनौती यतिवेला ट्टकारो अवस्थामा छ । सबै सरोकारवाला पक्ष मिलि यहाँका नानीहरुलाई यहिँ नै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सबै लाग्नुपर्ने देखिएको छ ।