धरान(डेस्क): तेह्रथुमको लालीगुराँस नगरपालिकाले लिम्बू सँस्कृतिमा आधारित ढुंगा विछ्याएर चोत्लुङ पार्क निर्माण गरेको छ । लिम्बू मिथक तथा मुन्धुममा आधारित निर्माण भएको यो पार्क मौलिक छ ।

अहिले सोही पार्कमा सिङदुम पक्वा (सृष्टीकालको रुखको टोडकाको चोखो पानी ) लुङदुम पक्वा (सृष्टीकालकै ढुंगाको खोपिल्टाको पानी) निर्माण कार्य सम्पन्न भएको छ । मुन्धुम अनुसार सिङदुम पक्वा लिङदुम पक्वा पवित्रता (सेःसेः साङसाङ)को बिम्व र प्रतीक हो । मुन्धुम अनुसार पवित्रता मात्र प्रकृतिमा हुन्छ । जस्तो कि पानी (खोला, पोखरी), रुख, ढुंगा÷माटो(ढिस्का, पाहाड) । किनकि त्यस्ता प्राकृतिक पवित्रतामा पितृका आत्मा बसेका हुन्छन । त्यसैले त्यस्ता ठाउंहरुसंग याक्थुङ्बा लिम्बुको वंशीय सम्बन्ध रहेको मान्यता छ ।

chotlung-park2

सिङदुम पक्वा, लुङदुम पक्वासंगै पोररोक्मि यम्फामि लाङयोक (पाइताला), चर्घेलुङ (कुखुराको पञ्जा), फाक लाङ्योक (सुंगुरको पाइताला), पिच्छा साम्बोक यान (दुबो), सिमिक्ला पमिक्ला (मालिङ्गो) राखिएका छन् । सबै प्राकृतिक विम्वात्मक र प्रतिकात्मक छन् । पोरोक्मि यम्फामिले मान्छेको सृष्टि बनाउंदा कुखुराको वृष्टि, मालिङ्गोको खरानी, दुबोको सीतको पानी मुछेर मान्छे बनाए । चोत्लुङ पार्क यस कारण पवित्र र देउताको बास भएको नगरप्रमुख अर्जुन माबुहाङको भनाई छ । उनका अनुसार आउंदो उधौंली (चासोक थिसोक)देखि साम लिङ्मा (सातो हाल्ने) र सिलाम साक्मा (मृत्युको बाटो)छेक्ने कार्य सुरु हुंदैछ । चोत्लुङ पार्क भक्तजनहरु, मुन्धुम अध्येताहरु र पर्यटकहरुको पर्खाइमा छ । युमा संग्राहलय पनि छाना लगाउन मात्र बाँकी छ ।

chotlung-park3 chotlung-park1