रोल्पा: बिहिबार राती गएको पहिराले पुरिएर दुई परिवारको ६ जनाको मृत्यु भएको छ । सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लाबाङमा राती पहिरो गएको थियो ।

पहिरोले घर पुरिदा ६ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर २८ वर्षिया शिरकुमारी बुढा र उनको ४ वर्षिय छोरा असल बुढाको मृत्यु भएको छ। त्यस्तै ३८ वर्षिय जय बुढा, उनकी श्रीमती ३६ बर्षिया मुलज्वती बुढा र उनका दुई छोरी ९ वर्षिया बेवस्ती र २ वर्षिया करिस्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले दिएको जानकारी अनुसार शुक्रवार बिहान स्थानीयले शिरकुमारी र उनको छोरा असलको शव निकालेका थिए। अन्यको शव भने मिरुल, कुरेली, थबाङबाट गएको प्रहरी र स्थानीयको प्रयासमा शुक्रवार दिउँसो मात्र फेला परेको थियो । आफ्नो घर असुरक्षित भएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न गएका थिए । केहि दिन यताको भिषण बर्षाले रोल्पाका अधिकांस सडक बन्द भएको छ ।