धरान : धरानमा शुक्रबारदेखि सुरु भएको एक नं. प्रदेश स्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा एकेडेमी धरानले विजयी सुरुवात गरेको छ ।

शुक्रबार धरान–१७ स्थित एन्फा एकेडेमीको फुटबल मैदानमा भएको उद्घाटन खेलमा एन्फा एकेडेमी धरानले राष्ट्रिय जागृती फुटबल एकेडेमीलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । धरान जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुदेखि नै एन्फा एकेडेमी धरानले इटहरीलाई दबाबमा राखेको थियो । म्यान अफ द म्याच घोषित भएका आयुष गुरुङ एक्लैले धरानकालागि ४ गोल गरे भने विषन ओझाले ह्याट्रिक गरे त्यस्तै असिमजंग कार्कीले २ गोल गरे भने सक्षम सिन्तेले एक गोल गरेका थिए । खेलको पहिलो हाफमा ६ गोल गरेको धरानले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । शनिबार न्यू स्टार फुटबल एकेडेमी भरौल र एम्ब्रीय क्लब एकेडेमी मोरङबीच पहिलो खेल र मार्गदेवी युवा क्लब धनकुटा र विराटनगर फुटबल एकेडेमीबीच दोस्रो खेल हुने छ । असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार जित्नेछन् ।

फुटबलकर्मीको जीवनशैली उच्चहुनुपर्छः किशोर राई

kishor-rai

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतियोगिताको आयोजक एन्फा एकेडेमी सञ्चालन समिति धरानका अध्यक्ष किशोर राईले अहिलेको समयमा फुटबलमा लागेका फुटबलकर्मीहरुको उच्च जीवनशैली हुने गरी अर्थाेपार्जन गर्ने वातावरण बन्नुपर्ने बताए ।  एन्फाका मानार्थ उपाध्यक्ष समेत रहेका राईले फुटबलमा लागेका विदेशीहरुको जीवनशैली उच्च भएको भन्दै विस्तारै नेपाली फुटबलकर्मीहरुको जीवन त्यस्तै हुने आशा व्यक्त गरेका छन् । उनले त्यसकालागि एन्फा र नेपाल सरकारले फुटबलको विकास र प्रतिभावान खेलाडी जन्माउन काम गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि धरान नगरपालिकाका पूर्व उपमेयर मिन सुब्बाले यु–१४ का खेलाडीहरु भविष्यका नेपालका राष्ट्रिय खेलाडी हुने भन्दै अहिलेदेखि नै खेलाडीले स्तरीय प्रतियोगिता खेल्न पाउनु राम्रो अवसर भएको बताए । कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य दिपक राईले धरानमा भएको एन्फा एकेडेमी स्तरीय प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्ने भन्दै एन्फाको बैठकमा आफुले यसबारे ध्यानाकर्षण गराउने बचनबद्धता गरेका थिए ।