धरान: आगामी मंसिर १४ गते धरानमा मेयर र वडा नं ७ को अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ ।

यो चुनावमा नेकपाभित्र को उम्मेद्वार उठाउने भन्ने रस्साकस्सी छ भने कांग्रेस, समाजवादी पार्टीलगायत अन्य दलहरुको ध्यान चुनावी गठबन्धन गर्नेतिर छ । बजारमा हल्ला छ, उपनिर्वाचनमा नेकपाबाहेकका दलहरुबीच गठबन्धन हुदैछ । यसको कसरत पनि भइरहेको छ । बुधबार नेपाली कांग्रेसको नगरसभा उद्घाटन समारोहमा समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूले शुभकामना मन्तव्य दिदै नेकपा र सरकारको कटु आलोचना गरे । यसले पनि बजारको हल्ला सही भएको थप वल पुग्यो ।

भानुचोकमा नगरसभा हुनुअघि नै कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग समाजवादी पार्टीसहित अन्य साना दलहरुको संयुक्त बैठक भएको थियो । त्यही बैठकको परिणाम थियो, नगरसभामा समाजवादीका अध्यक्ष लिम्बूले शुभकामना व्यक्त गर्ने वातावरण तयार हुनु । देउवासँगको भेटमा समाजवादी पार्टीसँगै जनमुक्ति पार्टी, संघीय लिम्बुवान परिषद, राप्रपा, मंगोल नेशनल अर्गनाइजेशन, खम्बुवानलगायत पार्टी नेतृत्वहरु छलफल गरेका थिए । सधै वामपन्थीको जित हुदै आएको धरानमा पछिल्लो समय नेकपा भर्सेस अन्य दलको महोल बन्दै गएको छ । त्यसैले कांग्रेसले आगामी निर्वाचनमा नेकपाबाहेकका अन्य दलहरुसँग गठबन्धन गर्ने प्रस्ताव औपचारिकरुपमा नै राखिसकेको छ ।

congress-election1

धरानमा साविक एमाले एक्लै चुनाव लड्दा त जित हासिल गरेको छ भने साविक माओवादीसँग पार्टी एकता गर्दा झनै वलियो स्थितिमा छ । त्यसैले अन्य दलहरुलाई चुनावी गठनबन्धन अतिआवश्यक छ । कांग्रेस सभापति देउवासँग नै गठबन्धन गर्ने बारे छलफल हुनुले पनि कांग्रेसले धरानमा गठबन्धनको आवश्यकतालाई कति महत्व दिएको छ भन्ने प्रष्ट हन्छ । तर, कांग्रेसले चाहेजस्तो चुनावी गठबन्धन सम्भव छ त ? समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बू भन्छन्,‘कांग्रेसले प्रस्ताव गरेको छ, हाम्रो पार्टीमा पनि केन्द्रीयस्तरमा नै छलफल हुदैछ तर, अहिल्यै के हुन्छ भन्ने निश्चित छैन ।’

अध्यक्ष लिम्बूका अनुसार केन्द्रबाट आफ्नै उम्मेद्वार उठाउने निर्णय भएमा गठबन्धन नहुन पनि सक्छ । आम कार्यकर्ताहरुको पनि आफ्नै उम्मेदवार उठाउनुपर्छ भन्ने दबाब छ । त्यसमाथि धरान पहिचानवादी राजनीतिको प्रमुख थो पनि भएकोले गठबन्धन गर्ने कि आफ्नो अस्तित्व कायम राख्ने भन्ने दबाब समाजवादीलाई छ । ‘कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि केन्द्रमा समन्वय हुनुपर्छ भन्यौं, यहाँबाट चाहेर मात्र हुदैन,’लिम्बूले भने,‘बाहिर नै गठबन्धन भैसक्यो भन्ने हल्ला छ, तर परिस्थिति गठबन्धन होला कि नहोला भन्नेमा अन्यौल नै छ ।’