इटहरी : घटना १. २०६२ साल बैशाख ३१ गते शुक्रबार तत्कालिन इटहरी नगरपालिकाका मेयर गितानिधि रायमाझीको साँझपख घर नजिकै गोली हानि हत्या भयो । माओबादी जनयुद्ध कालको समयमा हत्या भएपछि प्रहरीले माओबादीले हत्या गरेको आशंका गरेपनि अहिलेसम्म कसले हत्या गरेको भन्ने पुष्टि भएको छैन । घटनाको दोषी पत्ता नलाग्दा परिवार अहिले पनि उत्तिकै पिरोलिएका छन् ।

घटना २. २०६४ साल चैत ५ गते मंगलबार इटहरीको दन्तकाली हार्डवेयरका संञ्चालक दम्पती कैलाश अग्रबाल र उनकी श्रीमती शान्तादेवी अग्रवालको हत्या भयो । हत्या भएको एक दशक बितिसक्दा पनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन । उनको हत्या के कारण र कसले गर्यो भन्ने बिषयमा अझै पत्ता लागेको छैन । घटना पत्ता लगाउँन प्रहरी चुकिरहेको छ ।

घटना ३. २०७० मंसिर ४ गते इटहरीको खनारमा बसोबास गर्दै आएका सुवास काफ्ले घरबाटै हराए । उनी हराएको दुई दिनपछि इटहरी–धरान सडक खण्डअन्र्तगतको चारकोशे झाडीमा शब भेटियो । उनको शब भेटिएपछि परिवारमा तनाव त भयो नै । तर, प्रहरीले दोषी पत्ता नलगाउँदा परिवार झनै पिरोलिए । घटना भएको लामो समयसम्म दोषी पत्ता नलागेपछि सुवासकी श्रीमती ममता काफ्लेले आफ्नो श्रीमानको हत्या आफ्नै जेठाजुबाट भएको आशंका गर्दै प्रहरीमा उजुरी दिईन् । जेठाजु रमेश काफ्ले, सुवास गौतम र नरेश चौधरी विरुद्ध २०७१ बैसाख १९ गते किटानी जाहेरी गरिन् । पछि अदालतले रमेशलाई पूर्पक्षका लागि जेल चलान गर्यो । तर, उनीहरु पछि निर्दोष साबित भएर छुटे । तरपनि सुवासको हत्या कसले गरेको भन्ने अझै खुलेको छैन ।

घटना ४. २०७२ फाल्गुण २० गते इटहरी २ की १३ बर्षीया बालिका सपना भुजेलको हत्या भयो । बालिकाको हत्या भएपछि परिवार अझै पिरोलिरहेका छन् । तर, त्यो भन्दा बढी पीर दोषीलाई कारबाही नहुँदा भएको परिवारको भनाई रहेको छ । उनको हत्यारा पत्ता लगाउन पनि प्रहरी चुकिरहेको छ ।
यी माथिका चार हत्याका घटना प्रतिनिधि घटना मात्र हुन् । अझै पनि समाजमा हत्याका घटना ढाकछेप भईरहेको छ । यसैबीच इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएर आएका नयाँ प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले आँफूले हत्याको फायल अनुसन्धान गरेको बताए । उनले भने, ‘यहाँ भएका पुराना हत्याका घटनामा गम्भीर भएर अनुसन्धान गर्नेछु, पहिला पश्चिममा बस्दा लामो समयसम्म पत्ता नलागेको यस्तै केस मैले पक्राउ गरेको थिएँ ।’
इटहरीको सुरक्षा संयन्त्रको बिषयमा आँफू गम्भीर रहेको बताउँदै भण्डारीले भने, ‘म नसुतेर भएपनि इटहरीमा राम्रो काम गर्न लागि पर्नेछु, यहाँ भएका पुराना हत्याका घटनामा पनि गम्भीर अनुसन्धान गर्नेछु ।’ इटहरीमा भएका पुराना हत्याको दोषी पत्ता लगाउन आँफूले कुनै कसुर बाँकी नराख्ने भण्डारीको जिकिर रहेको थियो । ‘त्यो समय प्रविधिको जमाना थिएन, अहिले हामी प्रविधिको जमानामा छौँ,’ उनले भने, ‘प्रविधिलाई युज गरि काम गर्नका लागि हामी तयार रहेका छौँ ।’
२०६२ यता इटहरीमा धेरै डीएसपी आएर कार्यकाल सम्हालेको भएपनि यी माथिका घटनाबारे दोषी पत्ता लाग्न सकेको छैन । अहिले आएका डीएसपी भण्डारीले भने घटनाको दोषी पत्ता लगाउने बताएसँगै पीडित परिवारमा राहत पुग्ला त ?