झापाः “नजिकै सुबिधा सम्पन्न अस्पताल थियो । किन यहाँ ल्याएको होला ?” दिउँसो करिब साढे ३ बजेतिर झापा दमक नगरपालिका वडा नम्बर ५ स्थित लाईफलाईन अस्पताल नजिकै रहेको प्रशन्न थेरापी एण्ड आयूर्वेद क्लिनिकमा हामी पुग्दा धेरैले यस्तै प्रतिक्रिया दिइरहेका थिए । त्यहाँ मानिसहरुको बाक्लो भिड थियो ।

ईलाका प्रहरी कार्यालयबाट प्रहरीको गासहितको टोली पनि देखेपछि हामीले यहाँ के भएको ? भनेर सोध्यौं । दमकको फाल्गुनन्द प्रहरी बिटका एकजना प्रहरी रामचन्द्र दाहालले बिरामीको उपचारका क्रममा मृत्यु भएको रहेछ भनेर जानकारी गराए । शनिबार दिउँसोको घटना हो यो ।

झापा दमक ५ स्थित प्रशन्न थेरापी एण्ड आयूर्वेद क्लिनिकमा उपचारका लागि पुगेकी दमक ९ कि १७ बर्षीया शुष्मादेबी चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो । उनी पायल्सको रोगी रहेको उनका श्रीमान बरुण चौधरीले जानकारी दिए । मृतकका श्रीमान बरुणका अनुसार शुष्मालाई आजै सो क्लिनिकमा लगिएको थियो । चिकित्सकले एउटा ईन्जेक्सन लगाईदिएपछि सुष्माको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । लगत्तै नजिकै रहेको लाईफलाईन अस्पताल पुर्याउनै नपाउँदै बाटैमा शुष्माको ज्यान गयो ।

prasanna-thepari

श्याम श्रेष्ठले दमक ५ स्थित एक घरमा ५ वटा कोठा भाडामा लिएर प्रशन्न थेरापी एण्ड आयूर्वेद क्लिनिक सञ्चालन गरिरहेका छन् । उनको क्लिनिक अगाडी राखिएको साईनबोर्डमा उनको क्लिनिकमा आर्युबेदसँग सम्बन्धित सबै प्रकारका रोगहरुको उपचार क्षार सुत्र बिधिबाट गरिने भनेर उल्लेख गरिएको छ । यो समाचार तयार पार्दासम्म मृतकको शब बुझ्न परिबारले मानेका छैनन् । चिकित्सकले लापरबाही गरेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै मृतकका श्रीमानले चिकित्सकलाई कार्बाहीको माग राखेका छन् ।