धरान: धरानमा निर्माण हुने भनिएको खेलग्रामको डिपिआर बनाउन राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने भएको छ ।

राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले शनिबार धरान उपमहानगरपालिकामा यहाँका खेलकुदकर्मीहरुसँग आयोजित छलफलमा डिपिआरको लागि सहयोग गर्ने वचन दिएका हुन् । छलफलमा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरान १७ मा निर्माण गरिने भनिएको खेलग्राम र धरान १५ मा निर्माणाधिन अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदानबारे जानकारी गराएकी थिइन् । यस्तै, नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले धरान ६, पानवारीमा अध्ययन भएको हक्कीको अन्र्तराष्ट्रिय एकेडेमीबारे जानकारी गराउदै थप जिज्ञासा राखेका थिए । यस्तै, विभिन्न खेल विधासम्बन्धित संघका प्रतिनिधिहरुले पनि जिज्ञासा एवं धारणा राखेका थिए ।

सदस्य सचिव सिलवालले धरान खेलकुदको राजधानी नै भएको धारणा राख्दै खेलग्रामको अवधारणाको प्रसंसा गरेका थिए । उनले खेलग्रामको डिपिआर तयार गर्न राखेपले अन्र्तराष्ट्रिय परामर्शदाता झिकाएर सहयोग गर्ने पनि बताए । ‘खेलग्रामको अवधारणा ज्यादै राम्रो हो, परिषदले यसको डिपिआर बनाउन अन्र्तराष्ट्रिय परामर्शदाता झिकाएर सहयोग गर्न तयार छ,’सदस्य सचिव सिलवालको भनाई उदृत गर्दै नगर खेलकुद समिति अध्यक्ष सुवास राईले भने,‘स्थानीय, प्रदेश र संघ तीन वटै सरकार मिलेर बनाउनुपर्छ ।’

sports-city

विभिन्न खेल विधाको प्रशिक्षणसहितको खेलग्राम धरान १७ मा बनाउन नगर कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारलाई प्रस्ताव पठाएको थियो । उक्त प्रस्ताव वमोजिम प्रदेश सरकारले चालु आर्थिक बर्षको लागि ५ करोड बजेट विनियोजना गरिसकेको छ । उक्त बजेटबाट डिपिआरसहित जग्गाको घेराबारालगायतको काम गर्ने उपमहानगरको योजना छ । सदस्य सचिव सिलवालले धरानको खेलकुदको विकासको लागि आवश्यक प्रस्ताव लिएर परिषदमा आउन पनि आग्रह गरेका थिए । धरानमा भएका खेलकुदको भौतिक संरचना एवं मैदानहरुको संरक्षणको जिम्मेवारी अब स्थानीय सरकारको भएको उनको भनाई थियो ।

सदस्य सचिव सिलवालले धरानमा हकीको एकेडेमी निर्माणबारे भएको अध्ययनको बिषयमा थप बुझ्ने र सम्भव भएसम्म धरानमा नै निर्माण गर्ने पनि बताए । नेपालमा आयोजना हुन लागेको सागको सन्दर्भमा उनले आगामी कार्तिक दोस्रो सातासम्म सम्पुर्ण पुर्वाधार निर्माण सम्पन्न हुने र प्रतियोगिता भव्यरुपमा सफल हुने पनि बताए ।