धरान : सिद्धि नेवाः परिषद् धरानलाई ईन्द्रकुमारी लालप्रसाद हेंजु ट्रष्टले एम्बुलेन्स गाडी हस्तान्तरण गरेको छ ।

शनिबार सिद्धिनेवाः परिषद्को हलमा सम्पन्न एम्बुलेन्स हस्तान्तरण भए सँगै एम्बुलेन्स सेवा कार्य पनि सुचारु गरिएको थियो । धरान भित्र र धरान भन्दा टाढा रहेको विरामीहरुको सुविधालाई ध्यानमा राखेर नयाँ र एसी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गरिएको हो । एम्बुुलेन्समा अक्सिजन सुविधा, एसी सुविधा, आगो निभाउने ग्याँस, लगायत विरामीको लागि आवश्यक ईक्यूपमेन्टहरु जडित छ ।

आमा ईन्द्रकुमारी श्रेष्ठ र बुबा लालप्रसाद श्रेष्ठको स्मृतिमा धरान १ निवासी छोराहरु धु्रव श्रेष्ठ, द्वारिका श्रेष्ठ र युगल श्रेष्ठले उक्त ईन्द्रकुमारी लालप्रसाद हेंजु ट्रष्ट स्थापना गरेका हुन् । समारोहमा एम्बुलेनस हेंजु परिवारकी दिदी सावित्री श्रेष्ठ, परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको थियो । उक्त समारोहमा नै प्रमूख अतिथि प्रदेश नं. १ का सभामुख माननीय प्रदिप भण्डारीबाट ट्रष्टको समेत समुद्घाटन गरियो ।

सभामुख भण्डारीले उदारमाना एम्बुलेन्स दाता हेँजु परिवारले गरेको अतुलनीय कार्य र महान उदार हृदयको प्रशंसा गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताए । बुवा आमाको पुण्य स्मृतिमा गरेको यो सामाजिक कार्य समाजका लागि उदाहारण भएको विचार समेत भण्डारीले राखे । धरानमा धेरै एम्बुलेन्स भएपनि एसी सहितको सम्पूर्ण सुविधा भएको एम्बुलेन्सको अभावलाई पुर्ति गरेको सभामुख भण्डारीले बताए । एम्बुलेन्समा पनि धेरै विकृति भएको र त्यसलाई रोक्ने सिद्धि नेवाः परिषद्ले यस एम्बुलेन्स सेवा संचालन गर्न आग्रह समेत गरे ।

उक्त एम्बुलेन्स टाटा कम्पनी भएको र भन्सार छुट गरी जम्मा १८ लाख रुपैयाँ रहेको दाता परिवारका युगल श्रेष्ठले जानकारी गराए । एम्बुलेन्स सुविधा सर्व साधरण सबैको लागि प्रदान गरिने र आर्थिक अवस्था कमजोर भएको विरामीलाई आवश्यकता अनुसार विशेष छुट र निःशुल्क गरिने एम्बुलेन्स संचालन समितिका संयोजक सरोग श्रेष्ठले बताए ।

2 2
कार्यक्रममा सांसद चन्द्र प्रसाद श्रेष्ठले परिषद्को कामको प्रशंसा गर्दै परिषद्को बाटो निर्माण कार्य भईरहेको अवस्थामा पूर्वमा रहेको भौडीमाथि बनेको पुल जिर्ण भएकाले निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने र सहयोग गर्न सभामुखलाई अनुरोध गरे । कार्यक्रममा विशेष अतिथिका रुपमा सांसद माननीय सावित्री जोशी, माननीय उमिता विश्वकर्मा र दाता परिवारका सदस्यहरु सहित समाजिक व्यक्तित्वहरुको बाक्लो सहभागीता रहेका थिए ।