तेह्रथुम : कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखामार्फत जिल्लाबाटै कृषकहरुलाई सेवा दिनुपर्ने तेह्रथुमका अगुवा कृषकहरुले माग गरेका छन् ।

स्थानीय सरकार आए पनि किसानका लागि आफ्नो सेवा दिने कार्यालय नआएको भन्दै जिल्लाका अगुवा किसानहरुले गठन गरेको जिल्ला कृृषक सञ्जालमार्फत विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

तेह्रथुममा रहेको जिल्ला पशुसेवा कार्यालय र कृषि विकास कार्यालयको कामकाज धनकुटाबाट सञ्चालन हुने भएपछि यहाँका कृषकहरु कृषिजन्य सेवाबाट वञ्चित भएका छन् । सानो कामका लागि समेत तेह्रथुमका किसानहरु धनकुटा जानु परेकाले आफूहरुलाई समस्या भएकाले आन्दोलन गर्नु परेको जिल्ला कृषक सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र कार्यालय सहयोगीको भरमा सञ्चालित छ । कृषिबाली र पशुपंछीमा कुनै रोग वा समस्या देखिए प्राविधिकको अभाव भएको किसानहरुले गुनासो गरेका छन् । यता म्याङलुङ नगरपालिकाले भने स्थानीय कृषकका समस्यालाई ध्यानमा राख्दै नगरपालिकाले कृषि प्राविधिकको व्यवस्थापन गर्ने तयारी थालेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले जानकारी दिए ।