विराटनगरः १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरु संघीय सरकारको प्रतिनिधि मात्र नभएको बताएका छन ।

प्रदेश राजधानी विराटनगरमा आयोजित सुरक्षा बैठकको समापनमा आज मुख्यमन्त्री राईले प्रजिअहरुलाई हामी संघअन्र्तगत मात्र छौं भन्ने बुझाई नराख्न पनि आग्रह गरे । उनले प्रजिअहरु संघको प्रतिनिधि मात्र नभएको र प्रजिअहरुले पनि आफु संघअन्र्तगत मात्र छौं भन्ने बुझाई उचित नभएको बताए । 'संघीय सरकारको एउटा प्रतिनिधि मात्र हौं, हामी संघ अन्र्तगत मात्र छौं भन्ने कुरा बुझ्नु हुदैन, त्यसो होइन पनि,'मुख्यमन्त्री शेरधन राईले भने ।

उनले सुरक्षा चुनौतीलाई ३ तहकै सरकार मिलेर मात्र सामना गर्न सकिने भन्दै समन्वय हुनुपर्ने पनि बताए । तीन तहको राजनैतिक, प्रशासनिक संरचनामा राज्यको सबै अंगहरुलाई पनि सोही संरचनामा रुपान्तरित गर्न आवश्यक भएको मुख्यमन्त्री राईको भनाई थियो । 'नेपाल राष्ट्र निर्माणको निम्ति ३ तहको राजनीतिक, प्रशासनिक संरचनामा सबै राज्यको अंगहरुलाई त्यस संरचनामा रुपान्तरित गरेर हामी एकआपसमा राम्रो समन्वय गरेर, आपसमा सहकार्य गरेर हामीले अगाडि बढ्नुपर्ने, तदअनुरुप काम गर्नुपर्ने दायित्व रहन्छ,' मुख्यमन्त्री राईले भने ।

सुरक्षा बैठकमा १ नं प्रदेशको सबै १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । संघीय सरकारको गृहमन्त्रालाय र प्रदेश सरकारको आन्तरिक मामिला एवंम कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरक्षा बैठक भएको हो ।