काठमाडौं : भारतको आन्द्र प्रदेशमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको गोदावरी नदीमा सवार ६१ यात्रुसहितको डुंगा क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आशंका गरिएको छ ।

उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ । घटनामा थुपै्र यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ । गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् । यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

उता अफ्रिकन मुलुक कंगोमा डुंगा डुब्दा ३४ जना हराइरहेको आशंका गरिएको छ । कंगोको राजधानी किनसासाबाट माइ नोदोम्बे प्रान्त गइरहेको डुंगा दुर्घटना भएको हो ।क्षमता भन्दा बढी यात्रु रहेका कारण डुबेको अनुमान गरिएको छ । ७६ जनालाई भने जिवितै उद्धार गरिएको छ ।