सुनसरी: एक सय ४४ बर्ष सम्म बाँचेर इतिहास बनाएका सुनसरी(खनार)का वीर नारायण माँझीको गाँउसम्म पक्की बाटो पुग्ने भएको छ ।

इटहरी उपमहानगरको बहुबर्षीय गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवा देखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आम झोंगीसम्म पुग्ने बाटो पिच हुने भएको हो । वीरनारायण मार्ग नाम दिइएको यो बाटोको आज इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गरे ।

डेढ किलोमिटर लामो सो बाटो आगामी बर्ष जेठ ४ गते सम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ । यो वाटोको शिल्यान्याससँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ । गाँउका ११ मूल बाटोलाई बहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ । शिल्यान्साय कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडैसुरु हुने जानकारी दिए । उनले अव गाँउका जनताले उपमहानगवासी भएको अनुभूत गर्ने पनि बताए ।

itri1

प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाँउ गाँउका वासिन्दालाई नगरवासी भएको पहिलो अनुभूति दिलाउन गाँउ गाँउमा सडक निर्माण थालिएको बताइन् । वडा १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनता विकासका गति देखेर उत्साहित भएको बताए । वडा नम्वर ११ का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहासिक ब्यक्तित्व वीर नारायण माँझीको नामको वाटो कालोपत्रे हुने भएपछि वडावासी खुशि रहेको बताए ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दा अघिनै निर्माण सकिने गरि आजैदेखि निर्माणको कामले तिव्रता लिने छ । वीर नारायण माँझीका पनाति हरी नारायण माँझीले उपमहानगरले यो सडक पीच गर्नु वीर नारायण माँझीप्रति सम्मान भएको बताए । स्थानीय गयादेवी विश्वासले हिलो र धुलोवाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको वताइन् । वीरनारायण माँझीको जन्म वि.स. १९१३ भएको थियो भने निधन २०५७ सालमा भएको थियो ।